सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले भारतबाट फर्किएका हरुलाई अनिवार्य क्वारेन्टाएनमा राख्न पुनः निर्देशन जारी गरेको छ । निर्देशनालयले आईतबार विज्ञप्ती जारी गर्दै सुदूरपश्चिमका सबै स्थानीय तहहरुलाई अनिवार्य मुलुक बाहिरबाट आएका नागरिकलाई स्थानीय तहहरुले संस्थागत क्वारेन्टिनमा राख्न निर्देशन दिएको हो । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीका अनुसार स्थानीय तहहरुले क्वारेन्टिनमा नराखी सिधै घर पठाउने गरेको भन्दै क्वारेन्टिनमा राख्न निर्देशन दिएको बताए ।
क्वारेन्टिनमा ५ दिन पुरा भएका सबैको छैठौ दिन स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी र डडेल्धुरा अस्पताल पठाउने व्यवस्था मिलाउन समेत स्थानीय तहहरुलाई निर्देशन दिएको छ । स्वावको नतिजाको आधारमा पोजेटिभ भएकालाई अनिवार्य १४ दिन आइसोलेशनमा राख्ने अथवा क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने र रिपोर्ट नेगेटिभ आएमा ८ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउन निर्देशन दिएको हो । सरकारले लकडाउन खुल्ला गरेसंगै भारतबाट फर्किएकाहरुलाई स्थानीय तहहरुले क्वारेन्टिनमा नराखी धमाधम घर पठाउन थालेका छन् ।
स्थानीय तहहरुले भारतबाट फर्किएकाहरुलाई संस्थागत क्वारेन्टिनमा नराखी घर पठाएकै कारण समुदायस्तरमा कोरोना फैलने खतरा बढेको छ । भारतसँगको सीमानाका धनगढीको त्रिनगर, भीमदत्त नगरको गड्डाचौकी, टीकापुरको सत्ती, बैतडीको झुलाघाट लगायतका नाकाबाट नेपाल भित्रिने गरेका छन् ।