कोरोनामा स्वास्थ्य खर्च, विकास निर्माण र राहत वितरण सार्वजनिक गर्न कांग्रेसको माग
2020/07/26, 7:13
 
rajniti

बैतडीको पञ्चेश्वर गाउँपालिकालाई नेपाली कांग्रेसले २१ बुँदे ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका गाउँ कार्य समितिले आइतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको हो । पञ्चेश्वर गाउँपालिकाले लकडाउनका बेला वितरण गरेको राहतको विवरण, पञ्चेश्वर गाउँपालिकाद्वारा निर्माण गरिएका विभिन्न सडकको खर्च विवरण माग गरिएको छ ।  

यस्तै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको खर्चको विवरण, भ्रमण भत्ताका लागि छुट्याएको बजेट लगायतका विवरण माग गरिएको नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य रमेशसिंह भण्डारीले जानकारी दिए । काँग्रेसका पञ्चेश्वर गाउँपालिका कार्य समिति सभापति रामबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापनपत्र गाउँपालिकाले विभिन्न क्षेत्रमा गरेको खर्चको विवरण माग गरिएको छ ।

२१ बुँदे ज्ञापन पत्रमा माग गरिएका विवरणहरु सातदिभित्र उपलब्ध गराउन पनि कांग्रेसले माग गरेको छ। नेपाली कांग्रेसका क्षेत्रीय सभापति तेजबहादुर चन्द, जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारी, गाउँ कार्य समिति सभापति रामबहादुर चन्द लगायतका नेता कार्यकर्ता उपस्थित भएर गाउँपालिकामा ज्ञापन पत्र बुझाइएको हो ।