पुष्करनाथ ओझालाई निष्कासन गरिएपछि कांग्रेस कैलाली दुई कित्तामा विभाजन
2020/07/26, 8:02
 
rajniti

नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लंघन गर्नेलाई कारवाही प्रक्रिया अगाडी वढाएपछि नेपाली काग्रेंस कैलाली दुई कित्तामा विभाजन भएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पुष्करनाथ ओझालाई कारवाही गरेपछि कैलाली काग्रेंस दुई कित्तामा वाँडिएको छ । ओझालाई पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दै उजूरी परेको थियो । त्यही उजुरीका आधारमा उनलाई ५ बर्षका लागि पार्टीबाट निष्कासित गरिएको थियो । उनलाई निष्कासित गरेपछि काग्रेंस कैलालीको राजनिति गर्मराएको हो । 

नेपाली काग्रेंस कैलालीका उपसभापति प्रकाश बमले पार्टीको अनुशासन उल्लंघन गर्नेलाई नछोडिने बताएका छन् । उपसभापति प्रकाश बमले केन्द्रको कारवाही सिफारिसलाई सहमति गर्दै अनुमोदन गर्ने बताए । ‘कारवाही गर्ने भनेर केन्द्रको अनुसाशन समितिको निर्णय अनुसार सहमति भएको हो । यसलाई हामीले अनुमोदन गर्छौ ।’ उनले भने–‘जिल्ला अनुशासन समिति मार्फत नै गएर कारवाही प्रक्रिया सुरु भएको होला । अव उहाँहरुले सोमवार बैठक वोलाउनुभएको रहेछ । उहाँहरुले के निर्णय आउँछ, त्यसपछि के गर्ने भनेर आधिकारिक धारणा सार्वजनिक गर्छौ ।’

जिल्ला उपसभापति बमले सोमबारको बैठकका वारेमा सुनेको तर आफु लगायतलाई खबर नगरिएको र वोलाए पनि नजाने बताए । उनले निर्णय नसच्याएसम्म राजीनामा दिने ओझा निकटका नेता कार्यकर्ताहरुले चेतावनी दिएका वेला त्यो व्यक्तीगत स्वतन्त्रता भएको टिप्पणी गरे । ‘राजीनामा दिने कुरा ईच्छाको कुरा हो । त्यो गर्न पाउने सबैको स्वतन्त्रता छ । तर राजीनामा दिनुको कारण हुनुपर्यो ।’ उनले भने–‘पार्टीको विचार नै नमिलेर जान लाग्नुभएको हो की के हो त्यसका बारेमा पनि बुझ्न जरुरी छ । 

यता नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले शनिबार कैलालीका नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेता कार्यकर्ताले सो निर्णयको विरोध गरेका छन । उनीहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गराउन ओझालाई कारबाही गरेको भन्दै अनुशासन विभागको निर्णय नमान्ने चेतावनी समेत दिएका छन् । कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले ओझालाई पार्टीबाट निष्कासित गरेपछि ‘अन्याय सहिदन्’ भन्दै स्टाटस लेखेका छन् । धनगढीमा आयातित मान्छेलाई ल्याउन ओझामाथि कारवाही गरिएकाले फिर्ता हुनुपर्ने माग पनि गरेका छन । उनले सो विषयमा छलफल गर्न बैठक समेत बोलाईएको जानकारी दिए ।

आयातित मान्छेहरुको अवसरका लागि अर्को पक्षलाई सक्काउने भनेरै लागेको पार्टीको एक तप्काकै स्वार्थमा ओझालाई कारवाही गरिएको दावी कुँवरको छ । पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने योजनाका साथ पार्टीले कारबाहीको निर्णय गरेको कुँवरले बताए । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेस सभापति देउवा पत्नी आरजु देउवालाई हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले ओझालाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।