सुदूरपश्चिममा ३४७ महिलामाथि बलात्कार, सबैभन्दा बढी १६ बर्षमुनिका बालिका बलात्कृत
2020/07/27, 8:59
 
rape

सुदूरपश्चिममा पछिल्लो दुई बर्षमा ३४७ महिलामाथि बलात्कार भएको छ । प्रदेश प्रहरी कार्यालय दिपायल तथ्याड्क अनुसार निर्मला हत्या प्रकरण भएको आर्थिक वर्ष २०७५÷७६ मा ९ वटै जिल्लामा एक सय ५२ बालिका, महिला तथा वृद्धामाथि जबरजस्तीकरणी गरिएको घटना प्रहरीकोमा पुगाएका छन् भने आर्थिक वर्ष २०७६÷७७ मा एक सय ९५ वटा मुद्दा दर्ता भएको छ ।

कञ्चनपुरमा मात्र अघिल्लो वर्ष ३० वटा करणी सम्बन्धीका मुद्दा परेकोमा गत वर्ष वृद्धि हुँदै त्यो संख्या ४० पुगेको छ । करणीमा पर्ने १६ वर्ष उमेर समूहका किशोरी तथा बालिका सबैभन्दा बढी रहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सबैभन्दा बढि १६ वर्ष मुनिका किशोरी तथा बालिकामाथि जबरजस्तीकरणी हुने गरेको देखिएको बताए ।

उनले गत वर्ष ४० पीडित न्यायका लागि पुगेकोमा १६ वर्षमुनिका २० जना, १५ देखि २५ वर्ष उमेर समूहका १९ र २६ देखि ३६ वर्ष उमेर समूहका एक जना पीडित रहेको बताए । सुदूरपश्चिममा सबैभन्दा बढि जबरजस्तीकरणीका मुद्दा रहेको कैलालीमा आर्थिक वर्ष २०७५÷७६ मा ८२ बालिका, महिला तथा बृद्धा न्यायका लागि प्रहरीसम्म पुगेकोमा गत वर्ष सो संख्या बढेर ९२ पुगेको छ ।

यस्तै कैलाली र कञ्चनपुरपछि सबैभन्दा धेरै बाजुरामा दुई आर्थिक वर्षमा १७, अछाममा दुई वर्षमा १६, बैतडीमा १५, डडेल्धुरामा १५, दार्चुला र डोटीमा १४ र बझाडमा १२ वटा मुद्दा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशमा महिलाप्रती हेर्ने दृष्टिकोणमा परिवर्तन नहुनु, दण्डहिनता मौलाउदै जानु, प्रहरीप्रतिको विश्वसनीयतामा कमी हुदै जानु लगायतका कारण अपराधिक मनोवृत्तिलाई बल पुगेको बुझाई महिला अधिकारकर्मीहरुको रहेको छ ।

सोही कारण सुदूरपश्चिम लैंगिक हिंसामा कमी आउन नसकेको निर्मला हत्या प्रकरणमा विगत दुई वर्षदेखि न्यायिक आन्दोलनमा सक्रिय अधिकारकर्मी मीना भण्डारी बताउँछिन । उनले दण्डहिनता हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढ्नुको प्रमुख कारण भएको बताईन् । तर प्रहरीले भने गत विगतमा भएका त्रुटीहरुलाई सिकाईका रुपमा लिदै जघन्य प्रकृतिका लैंगिक हिंसा न्युनीकरणमा गम्भीर रुपमा काम गर्दै आएको दावी गर्ने गरेको छ ।

खासगरी निर्मला हत्या प्रकरणलाई प्रहरी संगठन भित्र सिकाईका रुपमा लिदै सोही अनुसार जबरजस्तीकरणी लगायतका अपराधिक गतिविधि निरुत्साहित गर्न योजनाबद्ध रुपले काम गरिरहेको बताईएको छ । कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले महिला सम्बन्धीका कुनै पनि घटना संवेदनशिल हुने भएकाले सोही अनुसार गम्भीर रुपमा काम गर्दै आएको बताए ।