सुदूरपश्चिममा रोपाई सकियो, गोदामको रसायनिक मल पनि रित्तियो 
2020/07/27, 8:09
 
ropai mal

सुदूरपश्चिम प्रदेशमा ९६ प्रतिशत रोपाई सकिएको छ । प्रदेशभर एक लाख ८१ हजार हेक्टर क्षेत्रमा रोपाई हुने गरेकोमा केही थोरै भुभाग वाहेक सवैमा रोपाई सिद्धिएको हो । गत बर्षको तुलनामा यो वर्ष बढी क्षेत्रफलमा रोपाई भएको हो । कैलाली कञ्चनपुरमा ९८ प्रतिशत रोपाई सकिएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टले बताए ।

गत वर्ष साउन महिनाको अन्तिमसम्म ९६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भएको थियो भने अहिलेको समयसम्म ७० प्रतिशत रोपाई पनि सकिएको थिएन । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा यो वर्ष रोपाई समयमा भएको बताए ।

सुदूरपश्चिम प्रदेशको अछाममा १६ हजार पाँच सय ८० हेक्टर, डोटीमा १० हजार ८ सय ९८ हेक्टर, कैलालीमा ७१ हजार सात सय १५ हेक्टर, कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुदै आएको छ । यस्तै डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टर, दार्चुलामा चार हजार चार सय ८० हेक्टर, बाजुरामा सात हजार दुई २० हेक्टर, बझाङमा सात हजार एक सय १० हेक्टर र बैतडीमा नौ हजार हेक्टरमा धान रोपाई हुदै आएको छ ।

किसानहरुले रोपाई सकिदा प्रदेशमा रसायनिक मलको पनि सिद्धिएको छ । गोदाममा रहेको सवै मल रित्तिएको छ । दूरपश्चिममा रासायनिक मलको मौज्दात शुन्य रहेको हो । धान खेतीका लागि युरिया मलको आवश्यकता भएपनि मलको मौज्दात सकिएपछि समस्या भएको छ । रासायनिक मलको विक्रि वितरणको अधिकार पाएका कृषि सामाग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग एक किलोग्राम पनि युरिया छैन्।

भारतबाट रसायनिक मल ल्याउन नपाएका किसानले डिएपी बिना धान रोपेका थिए । अहिले रोपाइ सकिएपछि आवश्यक युरिया मल नपाएपछि उत्पादनमा कमी आउने चिन्तामा किसानहरु रहेका छन् । सुदूरपश्चिममा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन युरिया, १० हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटासको आवश्यकता पर्छ । तर यो वर्ष कृषि सामाग्री कम्पनी लिमिटेडले ११ हजार पाँच सय ३४ मेट्रिक टन युरिया, सात हजार पाँच सय ९७ मेट्रिक टन डिएपी र दुई सय ५७ मेट्रिक टन पोटास वितरण गरेको छ । अहिले नै कृृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा मलको मौज्दात शुन्य भएको छ ।

दुई सय ८० मेट्रिक टन पोटास बाहेक अन्य रासायनिक मलको मौज्दात सकिएको कृषि सामाग्री कम्पनी लिमिटेड सुदूरपश्चिमका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताए । ‘अन्य वर्षको तुलनामा यो वर्ष रासायनिक मल बढी वितरण गरेका छा । तर मल अहिले छैन् । भदौसम्म आउने सम्भावना पनि छैन् । किसानहरु युरिया मलका लागि आउने गरेका छन् । मौज्दात हाम्रोमा मात्र हैन् । नेपाल भरी छैन् ।’

धान गोडमेलको समय भएकाले अहिले किसानलाई युरिया मलको आवश्यकता हुन्छ । किसानले युरियाको माग गर्दै आएका छन् । तर सुदूरपश्चिममा रासायनिक मल वितरणको जिम्मा पाएका संस्थाहरुसँग मलको मौज्दात सकिएपछि उनीहरु महंगोमा मल खरिद गर्न बाध्य भएका छन । गोदावरी नगरपालिका वडा नम्बर ९ का किसान खेमबहादुर ठकुल्लाले धान गोडमेलको समय भएकाले युरियाको आवश्यकता भएपनि नपाएको बताए ।

उनले भने, ‘अहिले युरिया आवश्यक हो । तर मल छैन । मल नभएपछि धानको उत्पादन कम हुन्छ । अनुदानको मल नपाएपछि महंगोमा मल किन्दै आएका छौँ ।’ सुदूरपश्चिममा आउने रासायनिक मलमा ७० प्रतिशत कृषि सामाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पाेरेसनले सहकारी मार्फत किसानलाई वितरण गर्दै आएका छन् । साल्ट ट्रेडिङसंग पनि अहिले आवश्यक युरिया मलको मौज्दात सकिएको छ । साल्ट ट्रेडिङले पाँच हजार ६ सय ८७ मेट्रिक टन युरिया, चार हजार सात सय ५३ मेट्रिक टन डिएपी र तीन सय ५३ मेट्रिक टन पोटास वितरण गरेको साल्ट ट्रेडिङ कर्पाेरेसनका सूचना अधिकारी रामचन्द्र जोशीले बताए ।