धनगढीका मेयरको उजुरीमा पुष्करनाथ ओझामाथि कारवाही
2020/07/28, 12:57
 
mayer

पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई कारबाही गरिसकेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सवुद प्रमाण अडियो र भिडियो पार्टी विधान विपरीत रहेको भन्दै कारबाही गरिएको शनिबार जारी विज्ञप्तीमा उल्लेख छ ।

1

ओझाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको र सोही कारण उनलाई पार्टीबाट निष्कासन गरिएको चर्चा छ । तर ओझा विरद्ध पहिलो पटक नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिमा स्थानीय तहको चुनावमा आधिकारिक उम्मेदवारलाई हराउन स्वतन्त्र प्यानल खडा गरेको आरोप लगाउँदै उजुरी परेको थियो । सोही उजुरीको आधारमा केन्द्रिय अनुशासन समितिले २०७६ साल भदौमा ओझलाई स्पष्टिकरण सोधेको थियो । ‘निर्वाचनका क्रममा तपाई विरुद्ध धनगढी उप–महानगरपालिकाका प्रमुख पदका उम्मेदवार नृपवहादुर वड, क्षेत्रीय सभापति हरिष खड्का र वडा नम्वर ३ का वडा सभापति दिपेन्द्रबहादुर सिंहले तपसिलका आरोप सहित नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिमा उजुरी प्राप्त भएको छ । पत्र प्राप्त भएको २० दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको छ ।’ स्पष्टिकरण पत्रमा भनिएको छ ।

मेयर वड, क्षेत्रीय सभापति खड्का र वडा नम्वर ३ का सभापति सिंहले मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई मत मागि नेपाली काँग्रेसको आधिकारिक उम्मेदवारलाई हराउन स्वतन्त्र प्यानल खडा गरेको र पार्टीको सिद्धान्त र जनताको जनमत विपरित अभिव्यक्ति दिएको आरोप लगाएको स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ । सोही उजुरीका आधारमा पहिलो पटक ओझालाई स्पष्टीकरण सोधिएको थियो भने त्यसपछि पनि उनलाई पटक–पटक स्पष्टिकरण सोधेको र जवाफ चित्तबुझ्दो नभएको भन्दै ओझालाई पार्टीबाट निष्कासन गरिएको काँग्रेसले जनाएको छ ।