कांग्रेस भातृ संगठनहरुको ह्वीप ‘गुटगत भेलामा सहभागी नहुनुस्’
2020/07/28, 6:42
 
congress kailali

नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि ओझा पक्षका नेता कार्यकर्ताहरुले आयोजना गरेका गुटगत भेलामा सहभागी नहुन कार्यकर्ताहरुलाई कांग्रेस निकट भातृ संगठनहरुले ह्वीप जारी गरेका छन् । पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी महाधिवेशनको बारेमा छलफल गर्न भन्दै सोमबार ओझा पक्षका नेता कार्यकर्ताहरुले गुटको भेला आयोजना गरेका थिए ।

मंगलबार नेपाल विद्यार्थि संघ, तरुण दल र नेपाल महिला संघ कैलालीले संयुक्त विज्ञप्ती जारी गर्दै सम्बद्ध नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको कारवाहीमा परेका ब्यक्तिको पक्ष पोषण गरि आयोजना गरिएका गुटगत भेलामा जो सुकै नेता तथा कार्यकर्ता सहभागी नहुन सचेत गराएको हो । नेपाल विद्यार्थि संघ कैलालीका सभापति भेष बहादुर बमले यो निर्णयले पार्टीको बिधान भन्दा माथि कोही हुदैन र हुन खोज्ने जो सुकैलाई दण्डित गर्छ भन्ने बलियो नजीर स्थापित गरेको बताए । उनले पार्टीको स्वार्थ भन्दा आफ्नो ब्यक्तिगत स्वार्थलाई सर्बोपरी ठान्ने, ब्यक्तिगत दम्भ तथा प्रतिशोधको राजनीति गर्ने र धमिराको रुपमा पार्टी संगठनलाई आन्तरिक रुपमा खोक्रो बनाएर आफ्नो राजनीतिक भबिष्य उज्ज्वल देख्ने अन्र्तघातीहरुलाई यसरी नै अनुशासनको दायरा भित्र राख्यो भने मात्र पार्टी संगठित र बलियो हुने बताए ।

ओझा पक्षका नेता कार्यकर्ताहरुले सोमबार ओझालाई कारबाही फिर्ता गर्न सभापती शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेका थिए ।
ओझा निकटका नेताहरुले पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने नियतले पार्टीले कारबाहीको निर्णय गरेको आरोप लगाउँदै आएका छन ।नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो । पूर्वमन्त्री एवम कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

यस्तै नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ । डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ ।

bigyapati