सम्पादकीयः सीमा सर्तकता आवश्यक 
2020/08/01, 11:58
 
editorial

नेपालमा दुई साता अघि लकडाउन खुलेको छ । तर गत फागुनदेखि हालसम् मभारतबाट आउने क्रम रोकिएको छैन । सुदुरपश्चिमका अधिकांश वासिन्दाहरुको रोजगारीको थलो भारत नै हो । त्यसै कारण पनि सुदुरपश्चिममा भित्रिएका एक दुई प्रतिशत वाहेक सवै भारतबाट नै आएका हुन् । भारतबाट आउने क्रम अझै रोकिएको छैन । त्यसैले भारतबाट आउनेहरुका विषयमा तीन वटै सरकारले गम्भीर रुपमा सोच्नुपर्ने वेला आएको छ । 

हालसम्म सुदुरपश्चिममा चार हजार छ सय ९२ जना कोरोना संक्रमित पुगेका छन् । केही समय कम भएको संक्रमितको संख्या लकडाउन खुलेसँगै झन एक्कासी वढ्नुले खतराको संकेत गरेको छ । अहिले भारतबाट आउनेहरुको सीममा चेकजाँच पनि छैन् । क्वारेन्टिनमा पनि राखिदैन् । सिधैं घर पठाउने गरिएको छ । यो असावधानीले समुदायमा कोरोना नफैलेला भन्न सकिदैन् । किनकी यसअघि आएकाहरुमध्येका ९० प्रतिशत वढी भारतबाट आएकाहरु नै कोरोना संक्रमित भएका छन् । बाँकी उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना लागेको छ ।

भारतमा पछिल्ला दिनमा कोरोनाको स्थिति हेर्दा सुदुरपश्चिममा खतराको घण्टी बजेको छ । त्यसैले समुदायमा कोरोना फैलिन नदिनका लागि सीमा क्षेत्रमै सुरक्षा सर्तकता अपनाउन जरुरी रहेको छ । सीमा नाकामा प्रवेश गर्ने वित्तिक्कै कोरोना चेकजाँच र त्यसपछि १४ दिनसम्म क्वारेन्टिनमा राखेर घर पठाउँदा समुदाय सुरक्षित रहन सक्छ । तर यसतर्फ अचेलका दिनमा कसैको ध्यान गएको छैन । 

अहिले पनि कोरोनाको जोखिम कायमै छ । नयाँ संक्रमित थपिने क्रम जारी नै रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय, प्रदेश तथा स्थानीय तहका सरकारहरुले निकै सतर्कतापूर्वक प्रभावकारी प्रयास जारी राख्नु त पर्छ नै कोरोना महामारीलाई समुदायस्तरमा पुग्न नदिन चनाखो हुनुपर्छ । भारतमा रोजगारी गुमाएकै कारण लाखौं नेपाली स्वदेश फर्किरहेका छन् ।

उनीहरुको राहत तथा उद्धारमा लाग्नु तीन वटै सरकारको दायित्व हो भने भारतबाट आएकाहरुसँगै भित्रिएको जोखीमलाई समुदायमा फैलिन नदिनु पनि जिम्मेवारी हो । त्यसैले कोरोनाले ल्याएका समस्या तथा चुनौतीको नयाँ ढंगले सामना गर्ने र व्यवस्थापन गर्नेतर्फ तीन वटै सरकारहरुले विशेष ध्यान दिनुपर्छ ।