सम्पादकीयः प्राकृतिक प्रकोपबाट क्षति रोक्न पुर्व तयारी आवश्यक 
2020/08/16, 7:43
 
duban

सुदूरपश्चिममा प्राकृति प्रकोपबाट ठुलो जनधनको क्षति भएको छ । पछल्लो चार महिनामा बाढी पहिरो, चट्याङ लगायतका प्राकृतिक प्रकोपबाट ठुलो क्षति भएको हो । प्रदेशका नौ वटै जिल्लामा प्राकृतिक प्रकोपमा परी ४२ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । विपत्तिबाट हजारौँ परिवारले विस्थापित हुनु परेको छ । प्राकृतिक प्रकोपको क्षति न्युनीकरणको पहिलो कदम भनेको पुर्व तयारी हो । तर हरेक बर्ष प्राकृति प्रकोपले जनधनको क्षति गर्दै आएको भएपनि पुर्व तयारीमा ध्यान दिन सकिएको छैन् । 

कैलालीको पूर्वी–दक्षिण क्षेत्रमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको छ । चार महिनाको अवधिमा प्राकृतिक विपदबाट जिल्लामा ११ जनाको मृत्यु भएको छ । लटीकापुर र भजनी नगरपालिका तथा जानकी, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रका हजारौ परिवार विस्थापित भए । तर विगतका केही बर्ष अघिसम्म हुने ठुलो जनधनको क्षति कैलालीमा पछिल्ला बर्षहरुमा कम हुदै गएको छ । प्राकृति प्रकोपबाट जिल्लामा भएको मानवीय क्षति पनि स्वयम मानिसहरुकै लारवाही र हेलचक्र्याईले ज्यान गुमिरहेको हो भन्ने कुरा मनन गर्नुपर्छ ।

कैलालीमा सुदुरपश्चिमका अन्य जिल्लाहरुमा पुर्व तयारी राम्रोभन्दा पनि पुर्व सुचना प्रणाली प्रभावकारी हुँदा मानवीय तथा भौतिक क्षति कम भईरहेको छ । नदीहरुमा पानीको वहाव बढ्ने वित्तिक्कै तल्लो तटीय क्षेत्रका वासिन्दाहरुलाई त्यसको जानकारी दिईन्छ । जस कारण तटीय क्षेत्रका वासिन्दाहरु चनाखो भएर बस्छन र प्रकोपबाट बच्छन् । त्यस्तै नदीहरुमा जलस्तर वढेर खतरा पार भएपछि  जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा साईरन बज्छ । यसले राहत तथा उद्धारका लागि टोली तयारी अवस्थामा संम्बन्धित ठाउँमा पुग्छ । यसले कैलालीमा क्षति कम भईरहेको छ । पुर्व सुचना प्रणालीसँगै विपद प्रतिकार्यका लागि समयमै पुर्व तयारी गर्न सकेमा पनि यसले अझ क्षतिलाई निकै कम गर्न मदत्त मिल्नेछ । 

विपद्का कारण सुदूरपश्चिमका सबै भन्दा बढी एकै पटक मानविय क्षति भने बझाङमा भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन । बाजुरामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । कञ्चनपुर र अछाममा पनि तीन तीन, दार्चुलामा सात तथा डोटी, डडेल्धुरामा एक÷एक जनाको प्राकृतिक विपदमा परेर मृत्यु भएको छ । प्राकृति प्रकोपको समस्या बर्षेनी वढ्दै गएको छ । तर यसको पुर्वतयारीमा प्रदेश सरकार र स्थानीय सरकारहरु चुकिरहेका छन् ।

पहाडी क्षेत्रमा अन्धाधुन्ध भईरहेको विकासले विनास निम्त्याईरहेको छ । सडक पुराउने नाममा जथाभावी भईरहेको डोजर आतंकले प्राकृति प्रकोपलाई वढाईरहेको छ । यसतर्फ पनि ध्यान पुराउनुपर्ने वेला भएको छ । विकासले निम्त्याउने विनासलाई ध्यान दिनुपर्छ । नत्र विकासको नाममा भईरहेको वेतिथिले ज्यान लिन पनि वेर लाउँदैन् । प्रदेशमा प्राकृतिक प्रकोपबाट बितेका चार महिनाको अवधिमा ४२ जनाको मृत्यु भएको छ । हजारौ परिवार बिस्थापित भएका छन् । त्यसैले ठाउँ अनुसारका प्राकृति प्रकोपको क्षति न्युनीकरणका लागि पुर्व तयारी गरेमा यसबाट हुने मानवीय तथा भौतिक क्षतिलाई घटाउन सकिन्छ । प्रदेश सरकार र स्थानीय सरकारहरुको यसतर्फ नजर पुगोस् ।