खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उखान चरितार्थ गर्न तल्लिन लाग्छन्, कैलालीको घोडाघोडी नगरपालिका १, भालुफाटाका टेकराज मगर । कोरोनाको महामारीका कारण सारा मानिस घरभित्रै सिमित भएको बेला उनलाई भने बारिमा तरकारी स्याहार्न भ्याईनभ्याई छ । दुई बिघा पाँच कट्ठा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु उनले यो लकडाउनको समयलाई अवसरको रुपमा लिएका छन् । उनी भन्छन्, ‘नेपालीलाई भारतीय तरकारीको साटो आफ्नै उत्पादन खाने बानी पार्ने समय हो यो ।’
टेकराजले सिँचाइ विभागको ओभरसियर जागिर छ वर्षमा चटक्क छाडेर डेढ वर्ष अघि बुद्ध कृषि फार्म खोलेका हुन् । उनले करिब एक बिघामा भेडे खुर्सानी र गोलभेडा अनि बाँकी जमिनमा लहरे बाली लगाएका छन् । लहरे बालिमा लौका, घिरौँला, करेला, सिमी र तने बोडी छन् । यो सिजनमा भेडेखुसानी र गोलभेडाबाट तीनलाख जति आम्दानी हुने उनको अनुमान छ । लकडाउनले बजार साघुँरो बनाएको र खासगरेर होटलहरु बन्द हुँदा भेडेखुसानीबाट हुनपर्ने जति आय नहुने उनले बताए ।
सुरुमै एक बिघा जति जमिनमा प्लाष्टिक टर्नेल बनाएर तरकारी खेती थालेका उनी अहिलेसम्म ६० लाख लगानी भएको बताउँछन् । इजरायली विधिबाट खेती गरिरहेका उनले हरेक टनेलमा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् । उनको फार्ममा सात जना कामदार छन् । राम्रै पारिश्रमिक पाइरहेको काम छाडेर कृषि कर्ममा लागेका टेकराजलाई अहिले परिस्थितिले साथ दिएको छैन, तर उनी निराश छैनन् । उनी भन्छन् ‘१०(२० वर्ष पछिसम्म सोचेर यो पेसा अंगालेको हुँ, अहिल्यै आत्तिने कुरै छैन ।’
उनको उत्पादन कैलालीको जोशीपुर, अत्तरिया, टीकापुर, पहलमानपुर, सुखड लगायतका बजारसम्म पुग्छ । सीमा क्षेत्र भएकाले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न निकै कठिनाइ भएको उनी बताउँछन् ।
‘मैले प्रतिक्रेट ८०० मा टमाटर पठाउन खोज्दा धनगढीका व्यापारीहरुले ३०० मा भारतीय टमाटर आउँछ भने’, टेकराज भन्छन, ‘नेपाल सरकारले पनि अनुदान दिए हामी त्यतिमै बेच्न सक्थ्यौंं, सबैले स्वदेशकै ताजा उत्पादन खान पाउँने थिए ।’ यसका लागि अब नेपाल तीनवटै तहको सरकारले आवश्यक काम गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘मल, बिउ, संकलन केन्द्र, हाटबजार र चिस्यान केन्द्रको बन्दोबस्त गरिदिए कति चाहिन्छ, हामी उत्पादन गर्ने थियौं ।’