राजनीतिमा धरमराएका रामसमझ कृषिमा जम्दै
2020/08/02, 1:16
 
krish net

राजनीतिमा हन्डर खाएका कैलालीका रामसमझ रानाले आधुनिक कृषिमा हात हालेका छन् । स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनपछि एकाएक गुमनाम भएका रानाले एकीकृत कृषि उद्योग सञ्चालन गरेर कृषिमा जम्न थालेका हुन । निर्वाचनमा पराजयपछि उनी ठूलो लगानीका साथ आधुनिक एकीकृत कृषि कर्ममा कम्मर कसेर लागेका हुन् । कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बनकट्टामा २०७६ वैशाखदेखि थालिएको नयाँ व्यवसायमा उनी जमेका छन् ।

सोना कृषि फर्ममार्फत उनले डेढ बिघा क्षेत्रफलमा ५ वटा पोखरी बनाएर व्यावसायिक माछापालनलगायत व्यवसाय थालेका छन् । उनी पहिलो वर्ष (२ सिजन) मा ८० लाख रुपैयाँ बढीको माछा बिक्री गर्न सफल भएका छन् । सबै खर्च कटाएर पहिलो वर्षमै माछाबाट १० लाख रुपैयाँ नाफा गरेको राना सुनाउँछन् ।पोखरी देखाउँदै उनी भन्छन्, ‘यो जग्गामा मैले धान वा गहुँ खेती गरेको भए बढीमा ३० क्विन्टल धान र ३० क्विन्टल गहुँ फलाउन सक्थें होला तर यसै पोखरीमा मैलै २ लटमा ३ सय क्विन्टल माछा उत्पादन गरेको छु । वास्तवमा कृषि क्रान्ति यही नै हो ।’ 

माछापालनसँगै शुरूवात गरेको उनको बाख्रापालन, कुखुरापालन, केराखेती र घाँसखेती पनि लोभलाग्दो छ । १२ कठ्ठा जग्गामा आधुनिक खोर सहित १०० वटा बाख्राहरू व्यावसायिक गतिमा हुर्किरहेका छन् भने सँगै २ हजार लोकल कुखुरा पनि व्यावसायिक उडान भरिरहेका छन् । उनको फर्ममा अस्टे«लियन बोयर, राजस्थानी स्रोही, खरी, जमुनापारी लगायत उन्नत जातका बाख्रा रहेका छन् । ‘अस्टेलियन बोयर जातको एउटै भालेमा मात्रै ३ लाख लगानी गरेको छु । जसको तौल आजभोलि डेढ क्वीन्टल छ । राजिस्थानी स्रोही जातको भालेको पनि डेढ क्वीन्टल नै छ । ती भालेहरूबाट खरी र जमुनापारी जातका माउसँग क्रस गराएर पाठा उत्पादनको योजना छ । पाठाको माग पनि उच्च छ ।’ 

उनले हालसम्म ब्राखापालनमा लगानी मात्रै गरिरहेको जनाए । बाख्राको लगानी ७० लाख पुगेको छ । ३०० वटा बाख्रा पु¥याउने लक्ष्य रहेको रानाले सुनाए । उनले ३ विघा क्षेत्रफलमा थालेको केराखेती पनि लहलहाउँदो छ । टिस्युकल्चर प्रविधिबाट उत्पादित केराको बेर्ना उनले रोपेका छन् । स्थानीय जानकी माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर केराखेती थालेको उनले बताए । केरासँगै उनले केरा प्लटमा खुर्सानी पनि रोपेका छन् । केराको बोट हुर्कनुभन्दा पहिले खुर्सानीको उत्पादन लिइसक्ने रानाको योजना छ । राना अगाडी भन्छन्, ‘चुनावको बेला हाम्रो नारा नै कृषि क्रान्ति गर्ने भन्ने थियो । आमजनतालाई कृषि क्रान्ति गर्ने आश्वासन पनि दियौं । पार्टी अध्यक्ष प्रचण्डको पनि त्यसैमा जोड थियो । बेलाबखत प्रशिक्षणमा कृषि क्रान्तिकै चर्चा गर्नु हुन्थ्यो । मेयर पदमा चुनाव हारेपछि जनतालाई कृषि क्रान्ति कसरी गर्न सकिन्छ भनेर सिकाउनलाई पनि मैले आफैं हात हालेको हुँ ।’

हालसम्म कृषि व्यवसायको लागि जग्गा खरिद सहित साढे २ करोड लगानी गरिसकेको र ५ करोड लगानी पु¥याउने योजना रहेको उनी बताउँछन् । हालसम्म उनी बैंक कारोबार (कर्जा) मार्फत काम गर्दै आएका छन् तर बैंकको करोडौं साँवाको व्याज भुक्तानीको लागि चाहिने रकमको जोहो भने सोही व्यवसायबाट मज्जाले गर्दै आएको उनी सुनाउँछन् । व्यवसायी रानाले औपचारिक उच्च शिक्षा तथा प्राविधिक शिक्षा लिएका छैनन् तर सफल व्यावसायिक फर्मको अध्ययन अवलोकन र स्वाध्ययनले व्यवसायमा फड्को मार्दै गएका हुन् । केही कामदारसहित आफैं कृषि कर्ममा होमिएका उनी माछा, कुखुरा, बाख्रालाई कतिबेला कस्तो आहार, औषधि दिने लगायत कुरामा अभ्यस्त भएका छन् । उत्पादित कृषि उपजको बजार उत्साहजनक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘माछा र लोकल कुखुराको बजार एकदमै राम्रो छ । बजार पुग्नै पर्दैन । व्यापारीहरू फर्मबाटै उठाउँछन् । सय क्विन्टल माछा बिक्री गर्न १० दिन पनि लाग्दैन ।’ जिल्लाको निकै विकट क्षेत्रमा व्यवसाय थालेका रानाले रोजगारी पनि सिर्जना गरेका छन् । उनको फर्ममा दैनिक १०–१२ व्यक्तिले ज्यालादारी रोजगारी पाएका छन् भने ५ जनालाई नियमित रोजगारी दिइएको छ ।

एकताका राजनीतिबाट विरक्त भएका उनी व्यावसायिक कृषि कर्मले निकै सन्तुष्टि मिलेको बताउँछन् । किसान, मजदुर वर्गले राजनीति तथा चुनाव लड्नै नसकिने अवस्था रहेको र जसको शिकार आफू पनि भएको उनी सुनाउँछन् तर हालको व्यवसायले मन हलुको भएकोमा उनले आत्मसन्तुष्टी व्यक्त गरे । उनले तत्कालीन नेकपा माओवादी (केन्द्र) बाट स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दिएका थिए तर उनी पराजित भए । प्रतिनिधि सभा सदस्य निर्वाचनताका भने माओवादी पार्टी त्यागेर काग्रेेंसमा प्रवेश गरे । उनी कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई जिताउने अभियानमा लागेका थिए ।