नेकपा विवाद : स्थायी कमिटीबाट हल खोज्ने प्रस्ताव ओलीद्वारा अस्वीकार
2020/08/03, 2:16
 
oli prachnd

सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार र सोमबार छलफल भए पनि दुवै पक्षले आफ्नो अडान नछोडेका कारण विवाद बढेको हो।

सोमबार बालुवाटार पुगेका दाहाल र वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीबाटै विवाद हल गर्नुपर्ने प्रस्ताव राखे पनि ओलीले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका छन्।

बालुवाटार स्रोतका अनुसार ओली सचिवालय बैठकबाटै विवाद टुंगो लगाउनुपर्ने पक्षमा छन्। स्थायी कमिटीमा आफू अल्पमतमा पर्ने भएपछि ओलीले बैठक बसाउन चाहिरहेका छैनन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता विवादको टुंगो स्थायी कमिटी बैठकबाट लगाउनुपर्ने अडानमा छन्।

१० असारदेखि सुरु भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपीको ओलीको अनुपस्थितिमा ६ साउनमा बसे पनि त्यसपछि बस्न सकेको छैन। यसैबीच १३ साउनमा दाहाल–नेपाल पक्षीय सदस्यहरुको मात्रै उपस्थितिमा बालुवाटारमा बैठक बसेको थियो। तर बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।

६ दिनसम्म रोकिएको दुई अध्यक्षबीचको संवादले आइतबारदेखि निरन्तरता पाए पनि तत्कालै सहमति भइहाल्ने अवस्था नदेखिएको ओली निकट नेता बताउँछन्।

पदको लडाइँ

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आइतबार र सोमबार छलफल भए पनि कुनै ठोस सहमतिमा नपुगेकोे जानकारी दिए। ‘नेताहरुबीच कुरा मिल्न सकेको छैन। जतिपटक छलफल र वार्ता गरे पनि दुवै पक्ष अडानबाट पछि हटेका छैनन्,’ एक स्थायी कमिटी सदस्य भन्छन्, ‘कोही पनि टसमस नहुँदा तत्काल सहमति हुने देखिएको छैन।’

अध्यक्ष दाहाल नेकपाको आन्तरिक विवाद पदका लागि नभएको दाबी गर्दै आएका छन् । ‘पार्टीभित्रको विवाद विधि, पद्धति र थप सुदृढिकरणका लागि हो,’ केही दिनअघि तुलसीलाल अमात्यको स्मृति सभामा दाहालले भनेका थिए ।

अर्का नेता माधवकुमार नेपाल पनि पार्टीमा पदका लागि लडाइँ नभएको बताउँदै आएका छन् । नेताहरुले पदको लडाइँ नभएको बताए पनि पार्टीभित्रको अहिलेको विवाद पदकै लागि रहेको बुझ्न गाह्रो छैन । दाहाल–नेपाल समूहले १६ असारमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भनेपछि नेकपाभित्रको विवाद चुलिएको हो ।

तर, ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राखेपछि अहिले आएर दाहाल–नेपाल पक्ष कुनै एक पदबाट राजीनामा गर्न ओलीलाई दबाब दिइरहेको छ । ‘नेकपाभित्रको विवाद जनताको सरोकारको विषय होइन, त्यहाँ कुनै सैद्धान्तिक आधारबिनाको द्वन्द्व चलिरहेको छ,’ राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन्, ‘यो पदको लडाइँ मात्रै हो।’

कोभिड–१९ संक्रमण, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समस्या रहेका बेला सत्तारूढ दल आन्तरिक विवादमा रुमल्लिएको उनको बुझाइ छ। ‘एक पक्षलाई कुर्सी जोगाउनु छ। अर्का पक्षलाई जसरी भए पनि कुर्सीमा रहेकोे मानिसलाई हटाउनु छ,’ उनले भने, ‘अहिले चलिरहेको खेल यही हो। पद बाँडफाँड हुन सके सबै सकिन्छ।’