के फेरि लकडाउन हुँदैछ?
2020/08/03, 9:59
 
कोरोना संक्रमितहरु दिनदिनै बढ्न थालेपछि नेपालमा सरकारले फेरि लकडाउन जारी गर्न सक्ने चर्चा भइरहेको छ ।


काठमाडौँ – कोरोना संक्रमितहरु दिनदिनै बढ्न थालेपछि नेपालमा सरकारले फेरि लकडाउन जारी गर्न सक्ने चर्चा भइरहेको छ।

जनस्वास्थ्यविज्ञहरुले कोरोना संक्रमणको महामारी फैलिन नदिन लकडाउन गर्नुपर्ने आवश्यकता रहेका बताइरहेका छन्। 
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुुभक्त ढकालले पनि प्रभावित जिल्लाहरुको अवस्था हेरेर लकडाउनबारे निर्णय लिइने बताएका थिए। 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन्।

कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका अधिकारीहरुले बताएका छन्। 

यो छलफल छिट्टै हुने बताइएपनि समय तोक्न भने बाँकी रहेको बताइएको छ । 

‘लकडाउनबारे निर्णय लिन प्रधानमन्त्रीले मंगलबार विज्ञहरूसँगको बैठक आयोजना गर्दै हुनुहुन्छ। समय अहिले तय भइसकेको छैन’, बालुवाटार श्रोतले भन्यो। 

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ५८ जनाको मृत्यु भइसकेको छ। सोमबार मात्रै ४१८ जना संक्रमित थपिएका छन्।