किसान बहुउद्देश्यीय सहकारीको तरकारी खेती
2020/08/04, 5:56
 
tarkari

लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले तरकारी उत्पादनमा हात हालेको छ । उसले जानकी गाउँपालिका–९ अमरावतीमा किसान एकिकृत कृषि फार्म सुरु गरेको छ । स्थानीयको अढाई विगाह जमिन १० वर्षका लागि भाडामा लगेर सहकारीले २०७६ साल जेठ महिनादेखी तरकारी खेती सुरु गरेको हो । सहकारीले मौषमी र बेमौषमी दुवै खाले तरकारी उत्पादन गर्दै आएको कृषि प्राविधिक बिरेन्द्र शाहले जानकारी दिए ।

सहकारीले सञ्चालन गरेको कृषि फार्ममा यतिबेला लौका, चिचिण्डा, करेला लगायतका तरकारी लटरम्म फलेका छन । सहकारीले उत्पादन भएको तरकारी स्थानीय बजारमा बेच्दै आएको छ । उसले तत्काल लम्की, टीकापुर, चिसापानी, बौनीया, सुख्खड, अत्तरीया लगायतका बजारमा आफ्नो उत्पादन पु¥याउने गरेको छ । केही उत्पादन स्थानीयले नै किन्ने गरेको कृषि प्राविधिक शाहले बताए ।

कोरोना रोकथामका लागि भएको लकडाउनका कारण भने तत्काल सहकारीले उत्पादन गरेको तरकारीले खाशै बजार पाउन सकेको छैन । ‘लकडाउनले केही असर पारेको छ’ कृषि प्राविधिक शाहले भने–‘तर यो भन्दा अघिको नाफाले धेरै नोक्सानी भने व्यहोर्नु परेको छैन ।’ उनका अनुसार लकडाउनका कारण ५० क्विन्टल करेला र २० क्विन्टल लौका बारीमै सडेको छ ।

सहकारीद्वारा सञ्चालित कृषि फार्मले तरकारी उत्पादनका साथसाथै बेर्ना समेत बिक्री गर्ने गरेको छ । स्थानीयलाई उन्नत जातका तरकारीको बेर्ना उपलब्ध गराउनु पनि कृषि फार्मको उद्देश्य रहेको छ । कृषि फार्मको अर्कोे उद्देश्य स्थानीयलाई तरकारी खेतीमा आकर्षित गरेर वैदेशीक रोजगारीको अन्त्य पनि हो । कृषि फार्ममा हाल ६ जना कर्मचारी नियमित काम गर्छन । यसका अलावा ४०/५० जनाले दैनिक ज्यालादारी काम गर्दै आएका छन ।

कृषि फार्मलाई रानी जमरा कुलरीया सिँचाई आयोजना कृषितर्फले समेत सहयोग गरेको छ । उसले कृषि फार्म भित्र हाइटेक नर्सरी स्थापना गरेको छ । जसले बिरुवा उत्पादनमा सहयोग पुग्नेछ । सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले कैलालीका १३ वटै पालिकामा तरकारी खेती बिस्तार गर्ने उद्देश्यले कृषि फार्म खोल्ने लक्ष्य रहेको बताए । उनले लम्की चुहा नगरपालिकामा जग्गा भाडामा लगिसकेको जानकारी दिए । उनले अन्य पालिकामा समेत चाँडै काम सम्पन्न गर्ने गरी तयारी भैरहेको बताए ।

‘सहकारी सँगै सरकारी लगानीको समेत अपेक्षा राखेका छौं’ उनले भने–‘संस्थागत रुपमा ठूलो मात्रामा उत्पादन गर्न सक्यो भने बढी प्रभावकारी हुने हाम्रो बुझाई हो ।’ सरकारीले तरकारी उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै थुप्रै स्थानीयलाई आयआर्जनको माध्यम बनाउने उद्देश्यका साथ कृषि फार्मको योजना अघि ल्याएको हो ।