प्रदेश सभामा प्रतिपक्षी दलको अवरोध हट्यो, बैठक सञ्चालन
2020/08/04, 8:52
 
Sansad

लगातार अवरोध भइरहेको प्रदेश सभा बैठक मंगलबारदेखि सञ्चालन भएको छ । असार २४ गते प्रतिपक्षीको विरोधकाबिचनै प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७७ ७८ को बजेट पारित गरेको थियो ।

असार १० गतेदेखि प्रतिपक्षीको लगातारको अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको थिएन । बजेट पारित भएपछि अनिश्चितकालिन स्थगित गरिएको प्रदेश सभाको बैठक २७ दिनपछि बसेको छ ।

आज बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका छैनन । पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरिरहेको थियो ।

मंगलबारको बैठकको विशेष समयलाई सम्बोधन गर्दै प्रतिपक्षी दल नेपाली काँग्रेस संसदिय दलका नेता रणबहादुर रावलले सदनलाई बन्धक बनाउन नहुने भन्दै सञ्चालन गर्न सहमत भएको बताए । उनले अझै सरकार गम्भिर नभए सदन अवरोध गरिने बताउँदै भने ‘हामीले बाँध्य भएर सदन अवरोध गर्नुपरेमा जिम्मा प्रदेश सरकारले लिनुपर्छ ।’