कैलालीका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
2020/08/06, 2:19
 
Badi

सुदूरपश्चिमको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले बुधबार कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। प्रदेशसभाका सभापति गोविन्दबहादुर कुँवर नेतृत्वको समितिले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो।

समितिको टोलीले कैलालीका गौरीगङ्गा, भजनी र टिकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिका लगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको अर्थ विकास–प्राकृतिक स्रोत समिति अध्यक्ष गोविन्दबहादुर कुँवरले बताए। उनले कैलालीको पूर्वी–दक्षिणी क्षेत्र वर्षेनी बाढीको चपेटा पर्दै आएकाले सो क्षेत्रका बाढी प्रभावित बासिन्दाको जनजीवनमा सहजता ल्याउन दीर्घकालीन योजना आवश्यक भएको बताए।

बाढीबाट सो क्षेत्रका बासिन्दाले वर्षेनी कष्टकर जीवन बिताउँदै आएको बताउँदै उहाँले सङ्घ, प्रदेश तथा स्थानीय सरकारले त्यसका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए। पूर्वी क्षेत्रका बासिन्दा लगातारको वर्षाले प्रभावित भएको भन्दै उनीहरुलाई आवश्यक राहतको व्यवस्था मिलाउन तीनवटै सरकारलाई आग्रह गरिने सभापति कँुवरले बताए।

अनुगमन टोलीमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, प्रदेशसभा सदस्य पूर्णा जोशी, महेशदत्त जोशी, अक्कलबहादुर रावल, अमर साउद, पत्रकार तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो। गत साउन १४ गतेदेखि परेको अविरल वर्षाका कारण गौरीगङ्गा, भजनी र टिकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिका जलमग्न भएको थियो। बाढीमा बगेर भजनी नगरपालिकाका तीन जनाले ज्यान गुमाएका थिए।