मनमोहक बुढीनन्दा 
2020/08/07, 11:54
 
budhi nanda

चारैतिर चट्टान । त्यहीबीचमा गोलाकारमा फैलिएको ताल । उधुमसंग लागिरहने कुहिरो । छिनछिनमा हुने वर्षा । आकाश छोडेर भुई छुन आतुर बादल । यस्ता तमाम विशेषता छन्, बुढीनन्दा तालको ।  ४५८१ मिटरको उचाईमा रहेको बुढीनन्दा ताल पर्यटकीय दृष्टिकोणले जति महत्वपूर्ण छ । त्योभन्दा बढि धार्मिक महत्व बोकेको छ, योक्षेत्रले । त्यसैले त कठ्यांग्रिदो चिसो, कष्टकर यात्रा र वर्षाको परवाह नगरी दर्र्शनार्थीहरु खाली खुट्टा पाईला टेक्दा सुखानुभूति गर्छन ।

हरेक वर्ष जनैपूर्णिमामा बुढीनन्दा क्षेत्रमा लाग्ने मेला र  मेलामा लाग्ने दर्शनार्थीको घुईचोले पनि यसको महत्व दर्शाउछ । यसपटक पनि जनैपूर्णिमा बाजुरा, अछाम,डोटी, कालीकोट, कैलाली लगायत देशका बिभिन्न भागबाट हजारौ दर्शनार्थीहरु बुढीनन्दा पुगे ।  बुढीनन्दा माईको पूजा तथा आराधनाले चिताएको कुरा पुरा हुने र बुढीनन्दा तालमा स्नान गर्दा सबै पाप पखालिने विश्वास गरिन्छ । । बाह्रैमास रहिरहने हिउ । अधिकांश समय हिउले ढाकिन्छ, बुढीनन्दा । बुढीनन्दा तालको परिक्रमा गर्न झण्डै डेढ लाग्छ । बुढीनन्दा ताल आसपासमा आधा दर्जन साना तालहरु छन् । बुढीनन्दा क्षेत्रलाई तालहरु थप मनमोहक बनाएको

आङ सिरिङ हुने डरलाग्दा भीर । एकतमासले हेरिरहु लाग्ने हरिया र रंगीचंगी फुलले ढाकिएका फाँटहरु । हरिया फाँटको मध्य भएर नागबेली आकारमा अघि बढेको बाटो र त्यही बाटोमा भएर बुढीनन्दा क्षेत्र जादै गरेका पंक्तिबद्ध दर्शनार्थीको दृष्य माथिबाट हेर्दा कमिलाको ताती झै लाग्छ । चट्टानबाट झरिरहने झरना । पानीको कलकल आवाज । जति हेरेपनि धित नमर्ने प्राकृतिक सुन्दरता ।  बुढीनन्दा क्षेत्र छ नै यस्तो । जहाँ पुगेपछि दर्शनार्थीहरु बाटोमा भोगेको कष्ट, पीडा, थकान सबै बिर्सिन्छन । 

मार्तडीबाट ४ दिनको पैदल यात्रापछि पुगिने बुढीनन्दा क्षेत्र प्रचार प्रसारको पर्खाईमा छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले यति महत्वपूर्ण बुढीनन्दा क्षेत्रको प्रचार प्रसार हुन सके देशविदेशबाट हजारौ दर्शनार्थीहरु आउने निश्चित छ ।  तस्वीरहरु : सृष्टि रेग्मी, (उपमेयर, बुढीनन्दा नगरपालिका) को फेसबुक वालबाट