‘खेतको धान सखाप भो, गुजारा कसरी गर्ने ?’
2020/08/07, 4:42
 
dhan sakhap

भजनी नगरपालिका–३ ढुसी गाउँका वीरबहादुर चौधरीले साढे तीन बिघा जमिनमा धान खेती गरेका थिए । साउन १४ गते आएको बाढीले उनको पूरै खेत डुबानमा प¥यो । एक हप्तासम्म बाढी नघटेपछि खेतको धानबाली सखाप भएको छ । ‘हप्तादिनसम्म डुबान हुँदा खेतको पूरै धान कुहिएर म¥यो’, चौधरीले भने–‘अहिले धान कुहिएर खेतै दुर्गन्धित भएको छ ।’ साउन १४ को बाढी घटेको छ । उनको खेतमा बाढी छैन । तर, न उनको घरमा भण्डारन गरिएको अनाज बच्यो न त खेतको धान । 

‘बाढीले घरको अनाज भिजाउनुका साथै खेतको धान सखाप पा¥यो’, चौधरीले दुखेसो पोखे–‘गुजारा कसरी गर्ने, समस्या हुने भयो ।’ सोही नगरपालिका वडा नम्बर ८ की नितु चौधरीको पनि खेतको धान सोत्तर भएको छ । काँढा, पथरैया नदीको बाढीले न उनको खेतको धान बाँकी राख्यो, न त घरमा भण्डारन गरिएको अनाज । धानबाली सखाप भएपछि गुजाराको चिन्ता बढेको नितुले बताइन् । 

 वीरबहादुर र नितु बाढीमा धानबाली गुमाएको प्रतिनिधिपात्र हुन । तर, बाढीको विनाश लिला दुई जनाको खेतमामात्रै सीमित छैन । कैलालीको पूर्वी क्षेत्रमा अधिकाङ्श किसानको बाढीले धानबालीलाई बाढीले पूर्ण रुपमा नष्ट गरेको छ । गएको साउन १४ गते आएको बाढीले भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा लगाइएको धान बालीमा क्षति गरेको हो ।   

 डुबान र माटो पटानका कारण खेतमा लगाएको धान सोत्तर भएको किसानले बताएका छन् । उनीहरुका अनुसार खेतमा डुबान एक हप्तासम्म भएपछि कसैको पनि धान बचेको छैन । ‘सबैको खेतीको हालत एउटै भएको छ’, भजनी नगरपालिका–३ ढुसी गाउँका वीरबहादुर चौधरीले भन्छन् । ‘कसैको पनि धानबाली बचेन ।’  चौधरीले साढे तीन बिघा जमिनमा धानखेती गरेका थिए । बाढीले सबै सखाप भएको उनले सुनाए । ‘मेरोमात्रै होइन, गाउँभरिका सबैको केही बचेन’, उनले भने ।

जिल्लामा अरु स्थानीय तहको तुलनामा भजनी नगरपालिकामा सबैभन्दा बढी धान बालीमा क्षति भएको छ । वडा नम्बर ३ र ८ मा त कोही किसानको धान बाँकी नरहेको बताइएको छ । धान खेती सखाप भएपछि गुजाराको चिन्ता बढेको नितुले बताइन् । उनले किनेर खानु पर्ने बाध्यता आउने उल्लेख गरिन् । 

बाढीले जोशीपुर नगरपालिका र टीकापुर नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न गाउँका किसानको धान खेतीलाई पनि क्षति गरेको छ । बाढीले धान खेती सखाप भएपछि किसान चिन्तित् भएका छन् । उनीहरुले भोकमरी समस्या आउने बताएका छन् । साढे तीन बिघा जमिनमा लगाएको धानबालीलाई बाढीले नष्ट गरेको सुनाउँदै टीकापुर नगरपालिका–७ बैदीका भोजराज ढुङ्गानाले खाद्यान्न सङ्कट निम्तिने बताए ।

उनका अनुसार सो वडाको बैदी, डाँडाटोल, कालाकुण्डा, बेलुवा, नयाँ बस्ती लगायत तल्लो तटीय बेल्टमा कसैको पनि धान बाँचेको छैन । ‘किसानको गुजाराको एउटै स्रोत धानबालीमात्रै हो’, चिन्तित् मुद्रामा उनले भने । ‘त्यहि नै रहेन । बाढीले सखाप पा¥यो ।’  बाढीले धानबालीमात्रै हैन, केरा खेती, बदाम खेती पनि सखाप पारेको छ । यसैगरी, पोखरीको माछासमेत भाग्दा माछापालक कृषकलाई ठूलो मात्रामा नोक्सान ब्यहोर्नु परेको छ । आफूले पालन गरेको तीन पोखरीको माछा भागेर करिब पाँच लाख रुपैयाँ बराबरको नोक्सान ब्यहोर्नु परेको भजनी नगरपालिका–२ मोहनपुरका माछापालक कृषक गङ्गा डङ्गौराले बताए । 

भजनी नगरपालिकामामात्रै बाढीले कृषिमा ठूलो मात्रामा नोक्सान गरेको छ । सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीका अनुसार नगरभित्र झन्डै चार हजार बिघा जमिनमा लगाएको धानबाली नष्ट भएको प्रारम्भिक विवरण आएको छ । यसैगरी, करिब १० बिघामा लगाएको मकै, सात बिघामा लगाएको बदाम र ३० बिघा जमिनमा लगाएको तरकारी खेतीलाई बाढीले नष्ट गरेको छ ।

 पानी जम्ने खल्ला जमिन भएका कारण भजनीमा कृषिमा बढी क्षति भएको सो नगरपालिकाका विपद् जोखिम न्यूनीकरण स्रोत व्यक्ति खिम पनाडीले बताए । ‘धानबाली पूर्ण रुपमा नष्ट छ’, उनले भने । ‘तर, विस्तृत विवरण आइपुगेको छैन । हामी सङ्कलनको क्रममा छौं ।’ बाढीले कृषिमा ठूलो नोक्सान गरे पनि क्षतिपूर्तिका लागि स्थानीयले स्थानीय सरकार गुहारेका छैनन् । धानबालीलाई बाढीले पूर्ण रुपमा क्षति गरेको जनाउँदै भजनी नगरपालिका–८ का वडाअध्यक्ष पङ्कज चौधरीले किसानले क्षतिपूर्तिका लागि निवेदन नदिएको बताए । ‘क्षति सबैतिर छ, तर, निवेदन कसैको परेको छैन’, उनले भने । 

 बाढीले कृषिबालीमा व्यापक नोक्सान गरेकाले भजनीमा खाद्य सङ्कट समस्या बढ्ने प्रबल सम्भावना रहेको छ । अनाज र खेतको धानलाई बाढीले नोक्सान गरेपछि किसान समस्यामा रहेको स्थानीय जयप्रकाश ढुङ्गानाले बताए । उनले किसानको लागि विशेष राहत प्याकेज ल्याउन आवश्यक रहेको उल्लेख गरे ।