बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गरि कार्बाहीको माग गर्दै कञ्चनपुर सदरमुकाममा दिनहुँ आन्दोलन भइरहन्थ्यो । माध्यमिक तह उत्र्तीण गरेर स्नातकमा भर्ना हुने तयारीमा रहेका कञ्चनपुरको भीमदत्तनगरपालिका–४ का अर्जुन भण्डारा २०७५ भदौ ७ गते साथीहरुसंगै बजार निस्किए । महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । गल्ली गल्लीमा समूहमा विभाजन भएको आन्दोलनले उग्ररुप लिदै थियो । प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थितिले पनि आन्दोलनलाई नियन्त्रणमा लिन सकेन ।
महेन्द्रनगरको मदन चौकदेखि अघि बढेको एउटा समूहको आन्दोलन बसपार्क हुँदै ट्राफिक चोक पुग्यो । बजार निस्किएका अर्जुन भण्डारा र उनका साथी त्यही आन्दोलनमा मिसिए । आन्दोलनकारी समूह र प्रहरीबीच झडप भयो । एक्कासी गोली चल्यो भण्डारा लगायत ८ जना घाइते भए । प्रहरीले चलाएको गोली लागेर ।
१८ वर्ष अघिदेखी पति वियोगमा रहेकी भण्डाराकी आमा शिवकला छोरो अर्जुनको भरोसामा थिइन् । सधै साँझ घर फर्किने अर्जुन त्यो दिन अरुदिन जस्तो घर फर्किन पाएनन । छोराको प्रतिक्षामा रहेकी शिवकलालाई अप्रत्यारिलो खबर सुन्नुप¥यो । छिमेकीको छोरीले अर्जुन घाइते भएको खबर सुनाएपछि शिवकलाको मन छियाछिया भयो । उनी सम्हालिन सकिनन् । अत्तालिदैं छोरो भेट्न महाकाली अस्पतालमा पुगिन तर उनी अस्पताल पुग्ने बेलासम्म अर्जुनलाई महाकाली अस्पतालले धनगढी रिफर गरिसकेको थियो ।
उता अर्जुन भने उठ्न नसक्ने गरी घाइते भइसकेका थिए । उनको दाया खुट्टामा लागेको गोलीले उनलाई उठ्न नसक्ने बनाइसकेको थियो । २०७५ भदौ ७ को त्यो दिन सुन्दर सपना पूराका लागि अगाडि बढेका अर्जुनका पाइलाहरु सधैका लागि लर्खराए । लाउलाउ खाउखाउ उमेरमा आपाङ्गता जीवन जीउन बाध्य भए, अर्जुन । एक अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाले महेन्द्रनगर न्यायको लागि आन्दोलित थियो । भदौ ७ गते बिहिबार साथीसंगै महेन्द्रनगर बजार निस्किएका भण्डारा न्यायिक आन्दोलमा होमिए ।
२०७५ साल भदौ १० गते कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्या भएको दोस्रो दिन मात्रै उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो । बालिका बलात्कारपछि निर्मम हत्या भएको घटनाले महेन्द्रनगर लगायत सिङ्गो मुलुककै ध्यान महेन्द्रनगरमा तानियो । क्रुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कार्बाहीको माग राख्दै कञ्चनपुरका स्थानीय महिलाहरुले दैनिक जसो महेन्द्रनगर सदरमुकाममा धर्ना र नाराबाजी गरिरहे । यहाँका स्थानीय महिलाहरुले त्यो वर्षको तीज समेत कालो साडीमा मनाए ।
घटना भएकोे केहि दिनमा कञ्चनपुर प्रहरीले भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई भदौ ४ मा अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन झनै चर्कियो । प्रहरीले अभियुक्तको रुपमा खडा गरेका विष्टको मानसिक अवस्था ठिक नभएको र प्रहरीले वास्तविक हत्यारालाई लुकाउन खाजेको, निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्दै प्रहरी विरुद्ध कञ्चनपुरमा चर्को आन्दोलन भयो ।
आन्दोलनले उग्र रुप लिदै गयो आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर भीमदत्तनगरपालिका–१८ शालघारीका १४ वर्षीय बालक शनी खुनाको ज्यान गयो । भने अर्जुनको अङ्गभङ्ग भयो । एक दर्जन बढी स्थानीय घाइते भए । न्यायिक आन्दोलनमा खुट्टामा गोली लागेर गम्भीर घाइते भएका अर्जुनले आफ्नो दायाँ खुट्टा जीवभरका लागि गुमाइसकेका छन् र पछिल्लो समयमा उनको मानसिक अवस्था पनि बिग्रिदै गएको छ ।
घरबाट राम्रै बजार गएका आफ्नो छोरा न्यायिक आन्दोलनमा जीवनभरका लागि खुट्टा गुमाएको अर्जुनकी आमा शिवकला बताउँछिन् । ‘छिमेकीबाट अर्जुनलाई गोली लाग्यो भन्ने खबर घरमा पुग्यो । मेरो त मुटु नै छिया छिया भयो । हत्तारिएर खोज्न अस्पताल पुगे । छोरालाई रिफर रिफर गरि सकेको थियो’, उनले भनिन्–‘रिफर भएको सुन्ने बित्तिकै म ज्यादै डराए र अहिले पनि त्यो क्षण सोचेपछि म आङ जिरीङ्ग हुन्छ ।’
दाया खुट्टा गोली लागेर काटेपछि शारीरिक अवस्था ठीक होला भन्ने सोच भएपनि अवस्था झन् बिग्रिदै गएको भण्डाराकी आमा शिवकलाले बताइन् । ‘छोराले गोली खाएको पनि दुई वर्ष भइसक्यो । दुई वर्षमा त सामान्य अवस्थामा आउला र ठीक होला भन्ने सोचेकी थिए ।’ शिवकलाले लामो स्वास फेर्दै भनिन्–‘एक वर्ष अस्पतालको वेडमा बहोस् रहेको छोरालाई सञ्चो भएको हेर्न धेरै मन थियो । दुई वर्ष सक्किन लाग्यो, तर, छोरा ठीक भएन ।’ उनले घाइते छोरालाई सुताएर औषधि खुवाउने गरेको सुनाइन् ।
‘गोली लागेपछि उपचारका लागि महाकाली अस्पतालदेखी काठमाडौको अस्पताल सम्म पुग्नु पर्याे । खुट्टा काटेरमात्रै उपचार हुने भएपछि खुट्टा काटेर भएको उपचारले पनि अहिले सुख दिएको छैन । छोरा गोलीले लागेर अपाङ भयो, परिवार दुखले अपाङ ।’ शिवकलाले भनिन् । खुट्टा काटेर गरिएको उपचारपछि अर्जुनको मानसिक सन्तुलन बिग्रिदै गएको उनले बताइन् ।
खुट्टाको उपचारमा २२ लाख खर्च भएको छ । परिवारले अर्जुनको उपचारमा कुनै कमी गरेका छैनन् । एक वर्षभन्दा बढी उपचारमा अस्पताल बिताएका अर्जुन अहिले भने घरमा रहेर निरन्तर औषधि उपचारमा छन् । उपचारमा भएका अर्जुनले आफूलाई दिदा सम्मको दुख दिने गरेको शिवकलाले बताइन् । ‘उपचार भएपनि होस् हुदैन, होस् नभएपछि छोराले दिनसम्म दुख दिने गर्छ । यसको मन परेको काम मात्रै गर्नुपर्छ । छोराले भनेको जस्ता कुरा मात्रै गर्नु पर्छ ।’ उनले भनिन् । अर्जुनले सुतेको बेलामा मात्रै काम गर्न पाइने गरेको भनाई छ ।
अर्जुनका दाई एकेन्द्र भण्डाराले अर्जुनलाई ईन्जिनियर पढाउनका लागि आफूले पढाइ छोडेका थिए । उनले भाई पढाईमा राम्रो हुनाले ईन्जिनियर बनाउने सपना सजाएपछि पढाई छोडेका उनको आमाले बताइन् । अर्जुन पढाइमा एकदम राम्रा र इन्टरमा विज्ञान विषय पढेर इन्जिनियरिङको तयारीको लागि परेका थिए ।
शिवकलाले आफ्नो छोरालाई अन्याय भएको तर कसैले नबुझेको बताइन् । ‘अर्जुनका बुबाको १८ वर्ष पहिले मृत्यु भएको थियो । अर्जुनलाई गोली लागेपछि फेरि अर्को दुःख थपियो । हामी दुखमा परेका छौं तर, कसैले हामीलाई हेरेन ।’
एकातिर शिवकलाको उमेर ढल्किदैछ । अर्कोतिर उनलाई छोराको स्वास्थ्य अवस्थाको चिन्ताले निकै पिरोल्ने गर्दछ । यस्तो, अवस्थामा उनी गम्भीर समस्यामा छिन् । सहारा दिनेमध्येको एउटा छोरा थला परेपछि आफूले काम पनि गर्न नपाएको र घरमा समस्या भइरहेको उनले सुनाइन् । ‘उपचारमै धेरै खर्च भइसक्यो’, शिवकलाले भनिन्–‘घर गुजारा कसरी गर्ने निकै चिन्ता लागेर आउँछ ।’
शिवकला परिवारले विगतमा ठेलागाडा चलाएर घर खर्च जुटाउँदै आएका थिए । अर्जुन घाइते भएपछि उनीहरुको त्यो काम पनि बन्द भएको छ । ‘कहिलेकाँही तरकारी किन्नसमेत पैसा हुँदैन’, शिवकलाले भनिन् । अर्जुनको उपचार धनसम्पत्ति खर्चेको भण्डारा परिवार चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । जेठो छोराले पहिल्यै मोबाइल पसल सञ्चालन गरेकाले त्यसबाट आएको पैसाले जेनतेन गुजारा भइरहेको उनले बताएकी छिन् ।