शिक्षा पत्रकार समूह सुदूरपश्चिमको संयोजकमा शिवराज भट्ट
2020/08/07, 8:41
 
shivraj bhatta

 दुई दशकदेखि शिक्षा बीट, खोज र अनुसन्धानमा क्रियाशिल शिक्षा पत्रकार समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । समूहको २१ साउनमा बसेको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश १ मा राधा खनाल (झापा), प्रदेश २ मा दिपेन्द्र सिंह (जनकपुर), बागमती प्रदेशमा ध्रुब अधिकारी (हेटौडा), गण्डकी प्रदेशमा केशवशरण लामिछाने (पोखरा), प्रदेश ५ मा मनोज पौडेल (कपिलबस्तु), कर्णाली प्रदेशमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी)लाई संयोजक चयन गरेको छ । प्रदेश कमिटीलाई प्रक्रियागत ढंगले पूर्णता दिइने कार्यसमिति बैठकले निर्णय गरेको छ । २०७६ फागुन ५ मा सम्पन्न २० आँै साधारणसभाले समूहलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरी त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न पूर्वअध्यक्ष सुदर्शन घिमिरेको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो ।

त्यस्तै, बैठकले शिक्षा बिटमा कार्यरत÷काम गर्न इच्छुक युवा एवं उर्जावान पत्रकारहरुका लागि शिक्षा पत्रकार समूहको नयाँ सदस्यता पनि खुला गर्ने निर्णय गरेको छ । शिक्षा पत्रकार समूह स्थापनाको २० वर्ष पुगेको अवसरमा बितेका दुई दशकका शैक्षिक मुद्दा, शिपसका पैरवी र उपलब्धीबारे पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोभिड–१९ को महामारीले उत्पन्न गरेको प्रतिकुलताबीच शिक्षा पत्रकार समूहले हरेक सोमबारलाई शिक्षाबारका रुपमा गर्दै आएको समसामयिक शैक्षिक मुद्दा केन्द्रित भर्चुअल सम्बादलाई निरन्तरता दिने निर्णय गरेको छ । शिपसले शिक्षा क्षेत्रका समसामयिक मुद्दा र असल अभ्यासबारे राष्ट्रिय, प्रादेशिक स्तरमा अन्तरक्रिया तथा लेखनवृत्ति कार्यक्रम गर्दैआएको छ । कोभिड–१९ को महामारीमा नेपालको शैक्षिक क्षेत्र, असल अभ्यास र चुनौति दर्शाउने खोजमुलक रिपोर्टहरुको पुस्तक प्रकाशित गर्ने तयारी समेत समूहले गरेको छ ।

साथै, बैठकले शिपसबाट अलग भएका प्रकाश सिलवालसहितका पाँच सदस्यहरुलाई अहिलेसम्मको उनीहरुको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै शिक्षा पत्रकारितामा थप सफलताको शुभकामना पनि प्रकट गरेको छ ।