उमेर १४ वर्ष ।
डडेल्धुराको नवदुर्गा गाउँपाकिला वडा नम्बर ३ भट्टगाउँकी निर्मला धामी !
तीन दिनसम्म आइसियूमा राखेर उपचार गरिएपछि बल्ल चौथो दिनमा सामान्य बोलचाल गर्नसक्ने अवस्थामा फर्किइन् । खाना खान सक्ने र अरुको सहारामा हिँड्न सक्ने अवस्था भने ५ दिनपछि मात्रै बन्यो । निर्मलालाई गत साउन ११ गतेबाट धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसियूमा तीन दिन राखेर उपचार गरिएपछि बाल बार्डमा सारियो । त्यसको झण्डै एक सातापछि खतरामुक्त बन्यो उनको अवस्था ।
‘उपचार जटिल थियो, तर सम्भव भयो,’ उनको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्रले भने । निर्मला अस्पतालबाट डिस्चार्ज भइन् । तर स्वास्थ्यमा पूर्ण सुधार आउन भने अझै केही दिन लाग्ला । एउटै एम्बुलेन्समा धनगढी ल्याउँदै गर्दा सँगै रहेका आमा सहित परिवारका अन्य ४ सदस्य उपचारपछि घर फर्किसके भन्ने लागेको थियो । आमा र भाइले संसार छोडिसके भन्ने कुरा उनले घर पुगेर मात्र थाह पाइन् ।
गत साउन ९ गते बिहान झिसमिसेमै तरकारीको जोहो गर्न हिँडेकी ३५ वर्षीया बिष्ना धामी ६ बजे घर फर्किइन् । एक दशक भारतमै बिताएर दुई बर्ष अघि मात्रै डडेल्धुरा फर्किएकी उनलाई वर्षायाममा तरकारीको जोहो गर्न बजार जानुभन्दा जंगलमा जानु सहज हुन्छ भन्ने कुरा गत वर्षको वर्खाबाट मात्रै थाहा भएको थियो । त्यसकै लागि उनी ९ गते सबेरै च्याउँ खोज्न जंगलतर्फ हिँडिन् ।
१० बजे बिहान खाना खाएर दैनिकीमा लागेकी उनको परिवारमा राती सबैको स्वास्थ्यमा समस्या देखिन थाल्यो । दोस्रो दिन बिहान छिमेकका आफन्तले थाहा पाए । के कति कारणले समस्या भयो भन्ने विषय भने अन्यौलग्रस्त थियो । दिउँसोसम्म उनीहरुको अवस्था जटिल बन्न थालेपछि ३ बजे एक छोरा र तीन छोरी सहित उनलाई छिमेकीले उपचार खर्च बेहोर्ने जोहो मिलाएर डडेल्धुरा अस्पताल पु¥याए । त्यति बेलासम्म निकै ढिला भइसकेको थियो । १० गते राती १० बजेसम्म डडेल्धुरा अस्पतालमा उपचार सम्भव नदेखिएपछि पाँचै जनालाई धनगढी रेफर गरियो । धनगढी ल्याइएका उनीहरु मध्य उनका ७ वर्षीय छोरा ललित धामीलाई अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरे । कलेजोमा निकै असर परिसकेको अवस्थामा अस्पताल पु¥याइएकी बिष्नालाई भने १४ गते दिउँसो २ बजेसम्म मात्रै चिकित्सकले बचाउन सके ।
उनको उपचारमा संलग्न चिकित्सक सेती प्रादेशिक अस्पतालका कन्सन्टेन्ट फिजिसियन डा. शेरबहादुर कमरले भने, ‘टक्सिन (बिष)ले उहाँका भित्री अंगहरु नराम्ररी बिगरीसकेको अवस्थामा यहाँ ल्याइ पु¥याइएको थियो । लिभर ट्रान्सप्लान्ट गर्न सकिने अवस्था भएको भए बचाउन सकिन्थ्यो भनेर भन्न सकिने ३० प्रतिशत आधारहरु छन् । अन्यथा उहाँको अवस्था निकै गम्भीर नै थियो। कडा खालको टक्सिनको विशेष उपचार समेत नभएकाले अन्य सपोर्टिभ उपचार गर्दागदै उहाँको मृत्यु भएको हो ।’
विषालु च्याउँ खाएका व्यक्तिहरुको उपचार पूर्ण सम्भव नभए पनि खाएको दुई तीन घण्टाभित्रै अस्पताल पु¥याउन सकिएको खण्डमा भने मानिसलाई बचाउन सक्ने अवस्था रहने उनी बताउँछन् । उनले भने, ‘त्यसका लागि च्याउँको टक्सिन (बिष) शरीरमा फैलिनुभन्दा अगावै पेटबाट च्याउँ निकाल्नु यसको उपचार विधि हो ।’ गाउँलेहरुलाई जंगली च्याउँका बिषयमा कस्तो खान हुने र कस्तो नहुने भनेर परम्परागत तरिकाबाट पहिचान गर्न सक्ने क्षमता छ । तर उनीहरु भारतमा बस्दै आएका हुनाले जंगली च्याउँका बिषयमा धेरै जानकारी नहुँदा घटना भएको उनका छिमेकी करन धामीले बताए ।
नेपालमा विषालु च्याउँ आएर मृत्यु हुने दर बालबालिकाको ६० देखि ७० प्रतिशतसम्म रहेको निर्मलाको उपचार गरेका डा मिश्र भन्छन । उनको कलेजोमा असर परेर फेल भइसकेको अवस्थामा अस्पताल पु¥याइएको भए पनि उपचार सम्भव भएको उनको भनाई छ । ‘रगत मापन गर्दा उनको अवस्था अत्यन्त नाजुक थियो । आवश्यक औषधिको प्रयोगबाट कलेजोले काम गर्न सक्ने क्षमता बढ्दै गएपछि उनको उपचार सम्भव भएको हो,’ मिश्रले भने ।
‘बुबाले छोराछोरी परिवारका बिषयमा चासो राख्न छोडेको बषौं भइसक्यो । भारतमा काम गर्ने ठाउँबाट आएको पैसाले रक्सी मात्रै खान थालेपछि त्यहाँ बस्न सक्ने अवस्था नभएर यहाँ आएका थियौं,’ मृत्युलाई जितेकी निर्मला भन्छिन्, ‘अहिलेसम्म त आमाको सहारामा बाच्यौं । अब कसरी बाँच्ने भन्ने थाहा छैन ।’ उनका बुबालाई भारत जाँदा छिमेकीले पैँसाको जोहो मिलाइदिएर भारत गएका थिए । अहिले झण्डै डेढ वर्षपछि फर्केर आउँदा पनि छिमेकीले नै पैसाको जोहो मिलाइदिएर घर आएका छन् । च्याउको असर खासै नदेखिएकी ९ वर्षीया बहिनी विमला र ६ वर्षिया बहिनी पूजाको चिन्ताले उनलाई पिरोल्न थालेको छ ।
उनको उपचारमा २० हजार रुपैयाँ नवदुर्गा गाउँपालिकाले सहयोग गरेको छ भने अरु खर्च आफन्तहरुले संकलन गरी बेहोरेका उनका छिमेकी करन धामीले बताए । नवदुर्गा माविमा ६ कक्षामा पढ्दै गरेकी निर्मला र उनकी बहिनीको भरण पोषणका लागि भनेर एक लाखको कोष स्थापना गरी रकम जम्मा गरिदिने धामीको योजना छ । उनले अरुबाट सहयोग नपाए पनि व्यक्तिगत तर्फबाट उक्त कोष खडा गर्ने योजना बनाएका छन् ।
विषालु च्याउँ मात्रै नभएर अन्य विषाधियुक्त खाद्यपदार्थको सेवनबाट सेती प्रादेशिक अस्पतालमा मात्रै महिनामा औसत ११ जनाको मृत्यु हुन ेगरेको डा. कमर बताउँछन । तर सरकारका तर्फबाट यसमा जनचेतना जगाउने तथा अन्य पहलमा भने कन्जुस्याँइ भइरहेको उनले बताए । ‘अहिलेसम्म वैज्ञानिक दृष्टिकोणले नेपालमा पाइने च्याउँका विषयमा र तीनमा हुने टक्सिनका बिषयमा कुनै विस्तृत अध्ययनसमेत भएको छैन। सरकारले पनि ध्यान दिएको पाइँदैन,’ उनले भने, ‘सरकारले कोभिड १९ का कारण २०–३० जना मान्छे मर्न लाग्न नै १०–१५ अर्ब खर्च भइसक्यो भनेको थियो । तर टक्सिनका कारण सेती अस्पालमा मात्रै महिनामा औसत ११ जना मान्छे मर्छन् भने सरकारले जागरुगता देखाउन जरुरी छ ।’
यो समय विषालु च्याउँका घटना प्रदेशमा बढ्ने भएकाले विशेष सतर्कर्ता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । ‘स्थानीय तहहरु तथा अन्य सरकार र सरोकारवालाले जनचेतना फैलाउन जरुरी छ। हामीले यस्ता कुराहरु त किताबी कोर्समा समेत राख्न सके निकै प्रभावकारी हुन्छ,’ उनले भने । परम्परागत रुपमा च्याउ पहिचान गरेर खाने गर्दासमेत यसबाट धेरै हदसम्म बच्न सकिने डा मिश्र बताउँछन ।
नेपालमा एक हजारभन्दा बढी च्याउका प्रजातिहरु पाइने र तीमध्य करिब एक सय १० जातका च्याउ मात्र खान योग्य छन । च्याउ भाँच्दा चोप निस्किने, छुँदा त्यसको रङमा परिवर्तन हुने, बैजनी तथा गाढा रातो रङका च्याउ, च्याउको माथि रहने छाता खस्रो एबं तलमाथि उठेको देखिने, नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पु¥याउनु पर्ने चिकित्सक बताउँछन ।
बिषालु च्याउ खाइसकेपछि शरीरको कलेजोमा पुग्ने र शरीरको पित्तसँग मिलेर नयाँ किसिमको तत्वको निर्माण गर्ने र बिस्तारै मिर्गौलाको काम गर्ने क्षमतामा कमी आउने चिकित्सकको भनाई छ । अन्तमा कलेजो तथा मिर्गौला फेल भएर मानिसको मृत्यु हुने भएकाले जंगलमा पाइने च्याउ खादा निकै सावधानीपूर्वक पहिचान गरेर मात्रै खानुपर्नेमा उनीहरुको जोड छ ।