आइपिएल नभएमा ४ हजार करोड घाटा लाग्ने
2020/05/17, 1:46
 
ipl

विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड (१९) का कारण दुई महिनादेखि क्रिकेटका सम्पूर्ण गतिविधि ठप्प छन् । यो अवस्थामा विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) हुने सम्भावना न्युन छ ।

अनिश्चित समयसम्मको लागि स्थगित भएको आइपिएल अक्टोबर नोभेम्बरमा टि–२० विश्वकप नभएमा हुने सम्भावना छ । तर आइसिसीले अष्ट्रेलियामा हुने टि२० विश्वकप तोकिएको समयमै हुने बताउँदै आएको छ । यदि यो वर्ष आइपिएल नभएमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई ४ हजार करोड भारतीय रुपैयाँ घाटा लाग्ने अध्यक्ष सौरभ गांगुलीले बताएका छन् । ‘यो वर्ष आइपिएल नभएमा ४ हजार करोड भारतीय रुपैयाँ नोक्सानी हुने छ । यो वर्ष आइपिएल हुन्छ भने हामीले तलब कटौती गर्न पर्दैन, यसैबाट व्यवस्थापन गर्न सकिन्छ, नभएमा त्यो अवस्थामा पनि आउन सक्छ’, सांगुलीले भने । 

यो वर्ष आइपिएल भएमा भारत बाहिर हुने सम्भावना धेरै छ । बिसिसिआईलाई आफ्नो देशमा गर्न युएई र श्रीलंकाले प्रस्ताव गरि सकेका छन् । यस अघि सन् २००९ मा दक्षिण अफ्रिकामा आइपिएल भएको थियो । सन् २०१४ मा युएईमा आइपिएलका २० खेल भएका थिए । आइपिएल सुरुमा चैत्र १६ देखि सुरु हुने कार्य तालिका थियो । पछि कोरोनाको कारण वैशाख ३ सम्म सरेको थियो ।

कोरोनाको महामारी फैलिएपछि अनिश्चित समयसम्मको लागि स्थगित भएको थियो । भारतमा दिन प्रतिदिन कोरोनाको महामारी बढ्दै गएको छ । आइतबारसम्म भारतमा ८५ हजार ९ सय ४० जनामा कोरोना संक्रमण देखिदा २ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । ३० हजार भन्दा बढी ठिक भई सकेका छन् ।