आईओसीद्वारा ८ सय मिलियनको कोष स्थापना
2020/05/17, 1:50
 
ioc

कोरोना भाईरसको महामारीविरुद्ध लड्न अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ८ सय मिलियन पाउण्डको कोष स्थापना गरेको छ ।

आईओसीको बोर्ड बैठकले कोरोना विरुद्ध लड्न ८ सय मिलियन पाउण्डको कोष स्थापना गर्ने निर्णय गरेको हो । बैठकपछि आईओसीका अध्यक्ष थोमस वाचले खेल संगठनका लागि कोष स्थापना गर्नु आईओसीको कर्तव्य भएको बताए । ’हामी आशा गर्दछौ कि हामीले ८ सय मिलियन खर्च गर्नु पर्नेछ । संगठनका लागि यो हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

कोषको रकममध्ये ६ सय ५० मिलियन पाउण्ड आईओसीका स्थगित खेलका लागि प्रयोग गरिने छ । बाँकी १ सय ५० मिलियन भने ओलम्पिक मुभमेन्ट, अन्तर्रा्ष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थाहरुलाई प्रदान गरिने छ । कोरोनाको महामारीको कारण विश्वमा ३ लाख बढी मानिसको मृत्यु भईसकेको छ ।

कोरोनाकै कारण विश्वका खेलकुद गतिविधि ठप्प रहेको छ । यसै वर्ष जापानमा तय भएको ओलम्पिक खेलकुद समेत एक वर्षका लागि स्थगित गरिएको छ । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।