राज्यकोषको दोहन भन्दै सुदूरपश्चिम प्रदेशका ५ सांसदले ल्यापटप बुझेनन्
2020/08/09, 8:37
 
neta

गत वर्ष साउन १ गते सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा ४६ थान ल्यापटप पुग्यो । प्रविधि मैत्री बनाउने भन्दै मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख सहितका प्रदेशसभा सदस्यहरूलाई २७ लाख ७३ हजार आठ सयको ल्यापटप खरिद गरिएको थियो । तर, राज्य कोषको दुरुपयोग गरेको भन्दै ५ जना प्रदेश सभा सदस्यले एक वर्षसम्म पनि ल्यापटप बुझ्न मानेका छैनन् । ‘हामीले उहाँहरूलाई पटक–पटक सूचना गरेका छौँ,’ प्रदेश सभा सचिवालयका सहायक सूचना अधिकारी युवराज जैशीले भने, ‘तर, उहाँहरूले लैजानु भएको छैन ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पूर्णा जोशी र पूर्व उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले अहिलेसम्म ल्यापटप बुझ्न मानेका छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत खड्का, कर्ण मल्ल र डिल्लीराज पन्तले पनि ल्यापटप बुझेका छैनन् । सरकारी ढुकुटी खर्चेर प्रदेशसभा सदस्यलाई ल्यापटप बाँड्ने कार्यको सुरुमा विरोध गरेका केही सांसदहरूले पछि सुटुक्क ल्यापटप बुझेका छन् । उनीहरू आफूहरूसँग आवश्यक पर्ने ल्यापटप रहेको हुँदा राज्य कोषबाट खरिद गरिएको ल्यापटप नबुझेको बताउँछन् ।

‘५० हजारको मोबाइल बोक्न सक्ने हैसियत राख्ने सांसदहरूले जनताको पैसाले खरिद गरेको ल्यापटप लिन हुँदैन भन्ने सोचेर मैले लिएको होइन,’ कांग्रेसका सांसद मल्ले भने, ‘यसमा सरकारले राज्य कोषको दुरुपयोग गरेको छ ।’ विपक्षी दलका सांसदले मात्रै होइन सत्तारुढ दलका सांसदहरूले पनि सरकारी ढुकुटीबाट खरिद गरिएको ल्यापटप बुझ्न आवश्यक नभएको बताए । ‘सरकारले दिँदैमा लिनुपर्छ भन्ने जरुरी छैन,’ सत्तारुढ दलकी सांसद  जोशीले भनिन्, ‘जसको छैन उहाँले लैजाने हो । मेरो छ, मलाई अर्काे किन चाहियो ?’ पूर्व राज्यमन्त्री रावलले पनि आफूसँग ल्यापटप हुँदाहुँदै लैजान आवश्यक नभएको बताए । ‘मसँग मेरै छ, त्यसैले लगिनँ,’ उनले भने ।

६० हजार तीन सयका दरले २७ लाख ७३ हजार रुपैयाँ खर्च गरेर प्रदेशसभा सदस्यका लागि ४६ थान ल्यापटप खरिद गरिएको थियो । यसअघि, सत्तापक्षकै केही सदस्यले जनप्रतिनिधिले ल्यापटप लिन नहुने तर्क गर्दै आएका थिए । प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले पनि सरकारी ढुकुटी खर्चेर खरिद गरेको ल्यापटप लिन नहुने ‘लबिङ’ गर्दै आएका थिए । तर, राज्यले दिएको सुविधा भएको भन्दै अन्ततः ४१ जना सांसदहरूले ल्यापटप लिएका हुन् । सरकारी ढुकुटी खर्चेर प्रदेशसभा सदस्यलाई ल्यापटप बाँड्ने कार्यको यसअघि विरोध समेत भएको थियो । तर, विरोध गरेका केही सांसदहरूले पनि पछि सुटुक्क ल्यापटप बुझेका छन् ।