डेब्युपछि अर्को अवसर कुरिरहेका सुदुरपश्चिमका कमल सिंह ऐरी 
2020/05/17, 2:32
 
kamal airee

हरेक खेलाडीको पहिलो सपना आफ्नो देशबाट खेल्ने हुन्छ । जुन सपना थोरै खेलाडीले पूरा गर्दा धेरैले गर्न सक्दैनन् । खेलाडीको मिहिनेत, धैर्यता, क्षमता, टोलीको आवश्यकता लगायत विभिन्न कुरामा उक्त सपना निर्भर रहन्छ ।

राष्ट्रिय टोलीमा पर्न उमेर समुह हुँदै घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेर मात्र पुग्दैन टोलीमा उक्त खेलाडीको भुमिका पनि टोलीमा आवश्यक हुनुपर्छ । लगातार खेलाडी परिवर्तन पछिल्लो समय नेपाली क्रिकेट टोलीको समस्याको रुपमा देखा पर्न थालेको छ । पछिल्लो समय युवा खेलाडी मध्य केहि एक दुई जनाले मात्र नियमित टोलीमा स्थान बनाएका छन् । युवा प्रतिभालाई धैर्यता गर्न नसकेको भन्दै कप्तान र टोली व्यवस्थापनमाथि प्रश्न पनि उठ्न थालेको छ । डेब्यु दिन नै हतार गरेको भन्दै आलोचना पनि गर्न थालेका छन् ।

डेब्यु खेलको प्रदर्शन मात्र होइन युवा खेलाडीलाई केहि खेलमा मौका दिनुपर्छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका यस्ता युवा खेलाडी जसले एक मात्र अन्तराष्ट्रिय खेल खेलेका छन् । अर्थात डेब्यु खेलपछि पुन अर्को अवसरको प्रतीक्षामा रहेका ४ नेपाली क्रिकेट खेलाडीमा पर्छन सुदुरपश्चिमको कञ्चनपुरका कमलसिंह ऐरी । युवा तीव्र गतिका बलर कमलसिंह ऐरीले गत माघमा आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान विरुद्धको दोस्रो खेलमा डेब्यु गरेका थिए ।

सुरुवाती ओमान र अमेरिकासँगको खेलमा अर्का तिव्र गतिका बलर अभिनाश बोहोरा विकेट विहीन बनेपछि ओमानसँगको दोस्रो खेलमा नेपालले कमललाई डेब्यु गराएको थियो । सो डेब्यु खेलमा ४ ओभरमा २९ रन खर्चिदा विकेट लिन सकेनन् ।ब्याटिङमा कमलले अविजित ९ रन जोडेका थिए । अमेरिकासँगको दोस्रो खेलमा नेपालले तीन स्पिनर सन्दीप लामिछाने, ललितनारायण राजवंशी र सुशन भारी मैदान उर्तादा कमल बेन्चमा बस्नु परेको थियो । सोमपाल कामी अस्वस्थ हुँदा उनको स्थानमा विश्वकप लिग– २ अन्तर्गत घरेलु मैदानमा भएको सो  त्रिकोणात्मक सिरिजमा उनी टोलीमा परेका थिए ।