सुदूरपश्चिम प्रदेशमा रित्तिएका क्वारेन्टिनमा बस्नेहरुको संख्या फेरी बढेको छ। भारतबाट फर्किने क्रम बढेसँगै क्वारेन्टिनमा बस्नेहरुको संख्यामा समेत बृद्धि हुन थालेको हो। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार क्वारेन्टिनमा बस्नेहरुको संख्या दोब्बरले बृद्धि भएको छ।
झण्डै एक हप्ता पहिले साढे १४ सय बढि मानिस क्वारेन्टिनमा बसिरहेकामा बढेर अहिले करिब २८ सय पुगेको छ। मंगलबार मात्र प्रदेशका क्वारेन्टिनमा पाँच सय १० जना थपिएका छन्। सोमबार सम्म दुई हजार एक सय ९८ जना क्वारेन्टिनमा थिए भने मंगलबार पाँच सय बढि थपिएपछि संख्या बढेर दुई हजार सात सय ८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
क्वारेन्टिनमा बसेका मध्ये एक हजर नौ सय ९० पुरुष र सात सय १८ महिला छन्। सबैभन्दा बढि अछाममा पाँच सय २५ पुरुष र एक सय ९७ महिला गरी सात सय २२ जना क्वारेन्टिनमा बसेका छन्। यस्तै बझाङमा चार सय ९२, कञ्चनपुरमा चार सय ५८, डोटीमा चार सय २३, डडेल्धुरामा दुई सय २६, बैतडीमा एक सय ९५, कैलालीमा एक सय १८ र दार्चुलामा ७४ जना क्वारेन्टिनमा छन्। बाजुरामा भने सबै क्वारेन्टिन खाली छन्।
कोरोना महामारीपछि जारी लकडाउनका बेला भारतबाट दैनिक हजारौँ मानिस सुदूरपश्चिम फर्किरहेका थिए। बीचमा त्यो संख्या घटेपनि अहिले फेरी बढ्न थालेपछि क्वारेन्टिनमा बस्नेहरुको संख्यामा पनि बृद्धि भएको स्थानीय प्रशासनले जनाएका छन्।