सुदूरपश्चिममा ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९५९ पुग्यो
2020/08/12, 6:27
 
corona

सुदूरपश्चिम प्रदेशमा आज झण्डै साढे ६ सय जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र प्रदेशका बाहिरका प्रयोगशालामा झण्डै साढे ६ सय जनाको परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ। 

डडेल्धुरा प्रयोगशालामा तीन जनामा कोरोना पुष्टि भएको छ। एक सय ४० जनाको नमूना परक्षिण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए। उनका अनुसार डोटीको आर्दश गाउँपालिका –५ का १ पुरुष र १ महिलागरी २ जना, त्यसैगरी बैतडीको सुर्नया गाउँपालिकाका एक पुरुषमा  कोरोना पुष्टि भएको हो। 

यस्तै सेती प्रादेशिक अस्पतालमा कैलालीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९१ जनाको कोरोना परीक्षण भएकोमा कैलालीको टीकापुर नगरपालिका ४३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो। 

भरतपुर अस्पताल प्रयोगशाला र पाटन अस्पताल प्रयोगशालामा सुदूरपश्चिमका थप दुईजनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन अस्पतालमा बैतडीका एक र भरतपुर अस्पतालमा कैलालीका एक गरी दुईजनामा संक्रमण पुष्टि भएको बताए। 

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार नौ सय ५९ पुगेको छ। सबैभन्दा बढि कैलालीमा सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। 

डोटीका सात सय ९४, अछाममा सात सय ३१, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ७८, डडेल्धुराका तीन सय १२ जना, बैतडीका तीन सय, बझाङका दुई सय ९५ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको हो। 

प्रदेशमा चार हजार ५५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भएको छ।