भारतमा रंगशाला खोल्ने अनुमती
2020/05/18, 11:23
 
rangasala

भारतको केन्द्र सरकारले कोरोना भाईरसका कारण जारी गरिएको लकडाउनलाई मे मसान्तसम्म बढाउने घोषणा गरेको छ । चौथो पटक थप गरिएको लकडाउनमा गृह मन्त्रालयले लकडाउनको नयाँ मोडालिटी भने तय गरेको छ ।

भारतीय गृह मन्त्रालयले सार्वजनीक गरेको नयाँ निदेर्शिका अनुसार स्पोर्ट्स कम्प्लेक्स र रंगशाला खोल्ने अनुमति प्रदान गरिएको छ । मन्त्रालयले जारी गरेको निदेर्शिका अनुसार बिना दर्शक रंगशाला खोल्ने अनुमति प्रदान गरिएको हो । रंगशाला खोल्न अनुमति दिएसंगै ईन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका भारतका ठुलो खेल प्रतियोगिताको आयोजनालाई लिएर छलफल सुरु भएको छ ।

आईपीएललाई दर्शक बिना खेलाउन सकिने सम्भावनाका बिषयमा छलफल अघि बढेको हो । तर पछिल्लो समय जारी गरेको निदेर्शिका अनुसार स्पोर्ट्स कम्प्लेक्स र रंगशाला केवल अभ्यासका लागि हो । आईपीएलको १३ औं संस्करण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अनिश्चित समयका लागि स्थगित गरेको छ । बीसीसीआईले नयाँ तालिका बनाउने बिषयमा छलफल गरिरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । आईपीएल रद्ध भएको अवस्थामा करिब साढे ६ हजार करोड रुपैयाँ घाटा हुने बताईएको छ ।