सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ। केही दिन यता धनगढीमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा कोरोना पुष्टि हुन थालेको हो।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमवार भेटिएका दुईजना मध्ये एक जना संक्रमित पनि ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्ति हुन्।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ४ मा संक्रमण पुष्टि भएका एक जनाको बाह्य ‘ट्राभल हिस्ट्री’ नरहेको बताए।
वडा नम्बर ४ का २६ वर्षीय पुरुष बैंकका कर्मचारी हुन् भने धनगढीमा डेरा गरी बस्दै आएका छन्।
यसअघि धनगढीमा कार्यरत चार प्रहरीमा पनि कोरोना देखिएको थियो भने व्यापारी, निर्माण सेवामा कार्यरत कर्मचारी पनि कोरोना पुष्टि भएको छ।
उप–महानगरपालिकाका अनुसार धनगढीमा अहिलेसम्म बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका १५ जनामा संक्रमण देखिएको छ भने कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको छ।
धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिन थालेपछि कोरोना समुदाय स्तरमा फैलिएको अनुमान लगाउन थालिएको छ भने जोखिम बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।