गृहमन्त्रीले राहत बाँडे, प्रदेशका कानुनमन्त्रीले सरकारी आदेशको धज्जी उडाए
2020/08/18, 7:36
 
rajniti

बाजुरामा साउनको अन्तिम साता अर्थात् २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई राहत वितरण गरेका हुन् ।

बाढी र पहिराबाट विस्थापित भएका १०० बढी परिवारलाई खाद्यान्न सहित अन्य सामग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए । उनका अनुसार गौमुल गाउँपालिका–२ सिमका ५० परिवारलाई बाल्टिन, अन्य भाडाकुँडा, खाद्यान्न लगायत सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो पीडितलाई वितरण गरिएको छ ।

मन्त्री थापासँग प्रतिनिधिसभाका बाजुरा सदस्य लालबहादुर थापा, पूर्वउद्योगमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलगायतले बाढी पीडितलाई प्रत्यक्ष गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

बाढी पहिराको अनुगमन
संघीय सरकारका गृहमन्त्री थापाले बाजुरामा साउन २५ गते राति आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँमा बाढी र पहिराले पु¥याएको क्षतिमा अनुगमन गरेका छन् ।  मन्त्री थापाले नेपाली सेनाको हेलिकप्टर गौमसल गाउँपालिका–२ सिम, बडीमालिका नगरपालिका–२ घागर र बुढीगङ्गा नगरपालिका २ र ३ को ताप्रीसेराको अवस्थाबारे जानकारी लिएका हुन् ।

यसै बिच गृहमन्त्री वादलसँगै रहेका सुदुरपश्चिम सरकारका कानुन मन्त्री प्रकाश शाहले सरकारी आदेशको धज्जी उडाएका छन् । गृह मन्त्रलालयले अनिवार्य मास्क लगाएर मात्रै सार्वजनिक स्थानमा जान पटक पटक आव्हान गरिरहेका बेला मंगलबार गृहमन्त्री रामबहादुर थापासँगै रहेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सो निर्देशनको धज्जी उडाएका हुन् ।  उनी गृहमन्त्रीको टोलीसँगै बाजुराको बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरणका लागि गएका थिए । तर कानुनमन्त्रीले सरकारी नियम लागू गरेको नगरेको भन्दै सामाजिक संञ्जालमा चर्को आलोचना  भईरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत गृहले आदेश जारी गरेको छ । संक्रामक रोग नियन्त्रण ऐन अनुसार हरेक जिल्लामा मास्क नलगाउनेहरुलाई कारबाही स्वरुप एक सय जरिवाना तिराइने गरिएको छ । तर प्रदेशकै कानुनमन्त्रीले सरकारको नियम उल्लंघन गर्दै अटेरी गरेको देखिएकोे छ ।