सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कैलालीमा आज बिहीबार राति १२ बजेबाट १४ भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १४ गतेसम्म बिना काम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइने छैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । सोही अवधिसम्म विभिन्न जिल्लाबाट कैलाली भित्रिन समेत निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको वुधवारको बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १४ भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरिएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोराले निषेधाज्ञाभर बिना काम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुन अनुसार कारबाही अघि बढाइने बताए । ‘निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन पाउँदैनन्, बिना काम निस्किएको पाइए कानुन अनुसार कारबाही हुन्छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी वोहोराले भने ।
वोहोराका अनुसार आदेशको उल्लंघन गरेमा स्थानीय प्रशसन ऐन अनुसार ५ सय रुपैयाँसम्म जरिमाना र १ महिनासम्म कैद सजाय हुनेछ । यस्तै, संक्रामक रोग ऐन अनुसार १ सय जरिमाना र १ महिना कैद हुन सक्नेछ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अरू सेवाहरू बन्द हुनेछन् । अत्यावश्यक सेवा अन्तर्गत स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न, पेट्रोलियम पदार्थ, फोहोर बोक्ने सवारी र औषधीजन्य सेवा बाहेक अरू सञ्चालन गर्न पाइने छैन । यस्तै तोकिएका बाहेकका व्यपार व्यवसाय बन्द हुनेछन् ।
यसैगरी, अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन कैलालीमा प्रवेश गर्न पाउने छैनन् । तर सबै प्रकारका यात्रुवाहक सवारी साधन बन्द हुनेछन् भने कुनै पनि मेला, महोत्सव, जात्रा पर्व सञ्चालन गर्न, मानिसहरू भेला तथा जम्मा हुन, भीडभाड हुन र सभा जुलुस गर्न पाइने छैन ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसको आधारमा संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्न लागिएको हो। आज मध्यरातिदेखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाईने छैन्।
जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाईने छैन् भने खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाईनेछ।
शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन्।
बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।
यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १७ बुँदे आदेश पनि जारी गरेका छन्। उनले कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्ने अभियानमा साथ र सहयोगको अपेक्षा पनि गरेका छन्।