कर्णाली, महाकालीका सहायक नदीमा बाढी आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कर्णाली, महाकालीका सहायक नदीमा बहाव बढ्ने क्रममा रहेकाले कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुन लगायतमा नदीमा बाढी आउने महाशाखाले जनाएको छ ।
यी नदीमा बाढी आउने भएकाले डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी भई बहने साना नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन महाशाखाले आग्रह गरेको हो । आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु प्रदेशमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम खालको पानी पर्ने उनको अनुमान छ । ठूलो पानी पर्ने क्रम भोलि र पर्सिलाई भने अलि कम हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।