रेडक्रस कैलालीद्धारा महामारीका क्षेत्रमा गरेको काम सार्वजनिक
2020/08/20, 4:06
 
Korona

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले कोभिड–१९ का क्षेत्रमा गरेका कार्यको सार्वजनिक गरेको छ । आज धनगढीमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कोभिड–१९ को सुरुवाती देखि गर्दै आईरहेको कार्य सार्वजनिक गरेको हो ।

रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले  कैलालीमा रहेका विभिन्न क्वारेन्टीन व्यवस्थापनका लागि टेण्ट, बाल्टिन, मग, जग, कम्बल, किटनाशक झुल, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको बताए । 

यस्तै जिल्लामा अभिमुखीकरण, घरदैलो कार्यक्रम, पर्चा पम्पलेट जस्ता जनचेतनामुक कार्यक्रम गरेको उनले बताए ।

रेडक्रस सोसाइटीले त्रिनगर भन्सार नाकामा हेल्प डेस्क स्थापान गरि ४० हजार, ६ सय ३२ जनालाई खानेपानी वितरण तथा गन्तव्य स्थलसम्म जानका लागि सवारी साधानको व्यवस्थापन गरेको रेडक्रसले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टर तथा महिला होल्डिङ सेन्टरका लागि बेड, टेलिभिजन र व्यक्तिगत सुरक्षाका सामाग्रीहरु, मनोसामाजिक परामर्शका लागि कर्मचारीको व्यवस्थापन गरेको छ।

यस्तै धनगढी क्षेत्रमा २१ वटा क्वारेन्टिन तथा सार्वजनिक स्थलमा हात धुने स्थलहरु निर्माण गरेको रेडक्रस शाखा कैलालीले जानकारी दिएको छ। धनगढी कारागारमा रहेका बन्दीहरुलाई २ सय थान सावुन, ६ थान त्रिपाल र १  थान टेण्ट वितरण गरेको जनाएको छ।