सुदूरपश्चिममा घटेन सवारी दुर्घटना
2020/08/21, 2:36
 
Acident

सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ। सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा तीन सय ८४ वटा सवारी दुर्घटना भएकोमा एक सय ४३ जनाले ज्यान गुमाएका छन् भने दुई सय ५४ जना घाइते भएका थिए।

अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा सुदूरपश्चिममा दुई सय १६ दुर्घटना भएकोमा दुई सय दुई जनाको मृत्यु हुनुका साथै एक सय ९८ जना गम्भीर तथा दुई सय ३८ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०७४÷७५ मा सुदूरपश्चिममा दुई सय ६४ दुर्घटनामा एक सय ६६ जनाले ज्यान गुमाएका थिए। यस्तै एक सय ३३ जना गम्भिर तथा दुई सय ५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले देखाएको छ।

सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन्। साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ। पहाडी जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रदेशमा सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ। सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ। दुर्घटना न्यूनिकरणका लागि चालक र पैदल यात्रीहरू सजग हुनुपर्ने प्रदेश ट्राफिक प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाएिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक भएको जनाइएको छ।