क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी राधादेवी ओडको घटनाको छानबिन सुरु गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीको संयोजकत्वमा समिति गठन गरी छानबिन सुरु गरिएको हो ।
वडा नम्बर ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी स्थानीय २२ वर्षीया ओडको करेन्ट लागेर मृत्यु भएपछि साउन २९ मा उनका परिवार सहितको सर्वदलीय बैठकमा समिति गठन गरी छानबिन गरी दोषीलाई कारवाही गर्ने निर्णय गरिएको थियो ।
नगर प्रमुख कर्णबहादुर हमालले पीडित परिवार सहितको बैठकमा गरिएको निर्णय अनुसार नगरपालिकाले समिति गठन गरी छानबिन सुरु गरेको बताए । समितिले अन्य सरोकारवाला पक्षसित जानकारी लिएर १५ दिनभित्र प्रतिवेदन नगरपालिकालाई बुझाउने जिम्मेवारी पाएको छ ।
समितिमा इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्द, कानुनी व्यवसायी पुष्प विक्रम शाही, विद्युत प्राधिकरण र पीडित परिवारका आफन्त सदस्य छन् । नगरपालिकाले मृतक ओडको परिवारलाई १० लाख रुपैयाँ सहयोग र उनका श्रीमानलाई जागिर दिने निर्णय यसअघि नै गरिएको छ ।