धनगढीमा क्षमता भन्दा बढि संकलन भएका स्वाव परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले एक हजार आठ सय स्वाव परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाईएको बताए ।
डडेल्धुरा अस्पतालको प्रयोगशाला प्रमुख ईश्वरी भुषालले तराईका दुई जिल्ला र पहाडका सात जिल्लाको स्वाव परीक्षणका लागि पठाईएका कारण प्रयोगशालाकर्मीहरु रातदिन ल्यावमा खटिनु परेको बताए । उनले प्रयोगशालामा जनशक्तिको अभावका बाबजुद पनि स्वाव परीक्षण तिब्र रुपमा भईरहेको बताए ।
हामीले एक दिनमा पाँच सय भन्दा स्वाव परीक्षण गरिरहेका छौ, उनले भने, धनगढीबाट पठाईएका एक हजार स्वावको रिपोर्ट पनि भोलिसम्म दिईसक्नेछौ । डडेल्धुरामा स्थापना गरिएको प्रयोगशालामा हालसम्म १० हजार स्वाव परीक्षण गरिएको भुषालले जानकारी दिए ।
सुदूर पश्चिमका पहाडी जिल्लालाई लक्षित गरी ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरामा स्थापना भएको पीसीआर प्रयोगशालाले पहाडका सात वटा जिल्लाका साथै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका स्वाव समेत परीक्षण गरिरहेको छ ।