निषेधाज्ञाको दोस्रो दिनः सुदूरपश्चिमका चार जिल्ला ठप्प, बजारहरु सुनसान
2020/08/22, 12:13
 
corona

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका चार जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेशका चार वटा जिल्ला कैलाली, कञ्चनपुर, बैतडी र डडेल्धुरामा भदौ ४ गते राति देखि निषेधाज्ञा जारी गरिएको छ । खासगरी कैलाली र कञ्चनपुरमा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ भने बैतडी र डडेल्धुरामा जिल्ला सदरमुकाम रहेका स्थानीय तह र आसपासमा मात्र निषेधाज्ञा जारी गरिएको हो ।

यी जिल्ला मध्ये कैलाली र कञ्चनपुरमा भदौ १४ गते सम्म निषेधाज्ञा गरिएको छ भने बैतडी सदरमुकाममा भदौ १५ गते सम्म रहेको छ । यसैगरी डडेल्धुरामा भने भदौ १२ गते सम्मका लागि भनिएको छ । ‘अहिले सुदूरपश्चिममा तीज र गौरा पर्वको चहल पहल बढेपछि मानिसको आवत जावत बढ्यो’ सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वडले भने–‘संक्रमित पनि थपिँदै गएका छन्, अझ त्यसमा चाडपर्वले मानिसको चाप बढेपछि निषेधाज्ञा जारी गर्नु प¥र्यो ।’

उनले अपिल गरेर भिडभाड नियन्त्रण गर्ने अवस्था नदेखिएपछि बाध्य भएर निषेधाज्ञाका लागि सिफारिस गरिएको बताए । धनगढी उपमहा नगरपालिकामा शुक्रबार मात्र ३० जना संक्रमित थपिएका छन् । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी उपाध्यायका अनुसार धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १ सय ३२ जना निको भैसकेका छन् भने एक्टिभ संक्रमित १५ महिला र २१ पुरुष गरि ३६ जना रहेका छन् । खासगरी गौरापर्वका अवसरमा कञ्चनपुर, डडेल्धुरा र बैतडीमा बढी भिडभाड हुने भएकाले पनि निषेधाज्ञा जारी गर्नु परेको त्यस क्षेत्रका जनप्रतिनिधिहरु बताउँछन् ।
बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिका भदौ ४ गते रातिदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले संक्रमितको संख्या पनि बढ्दै गएको र तीज गौरा जस्ता चाडपर्वले भिडभाड बढ्न थालेपछि निषेधाज्ञा गरिएको बताए । डडेल्धुरामा जिल्लाभर आंशिक निषेधाज्ञा गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ४ गते देखि जिल्लामा आंशिक निषेधाज्ञा गरेको छ । जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसलहरू बिहीबारदेखि भदौ १२ गतेसम्मका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ ।

भारतबाट नेपालीहरु प्रवेश गर्ने क्रमसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । शुक्रबार सम्म सुदूरपश्चिम प्रदेशमा पाँच हजार एक सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पाँच हजारमध्ये चार हजार तीन सय ७४ जना निको भएर घर फर्किसकेका छन भने सात सय ५२ जना अझै प्रदेशमा सक्रिय संक्रमित रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी सक्रिय संक्रमित डोटीमा रहेका छन् ।

डोटीमा अहिलेसम्म आठ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्ये दुई सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने पाँच सय ७६ जना निको भएर घर फर्किसकेका छन्। कैलालीमा अहिले एक सय ५८ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कैलालीमा अहिलेसम्म एक हजार चार सय ६० जनामा कोरोना संक्रमण देखिएकोमा एक हजार दुई सय ९८ जना निको भएर घर फर्किसकेका छन्। कैलालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ । यस्तै, कञ्चनपुरमा छ सय २१ जना कोरोना संक्रमण पुष्टि भएकोमा अहिले ४१ जना, डडेल्धुरामा तीन सय नौ मा कोरोना संक्रमण पुष्टि भएकोमा १० जना, अछाममा सात सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८२ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा तीन सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पाँच जना, बझाङमा दुई सय ८५ जनामध्ये एक सय ७३, बाजुरामा चार सय ५२ मध्ये आठ र दार्चुलामा ४३ मध्ये सात जना सक्रिय संक्रमित रहेका छन् ।