सुदूरपश्चिमका आधा लाख बढीको कोरोना परीक्षण, साढे १० प्रतिशतमा कोरोना संक्रमण
2020/08/23, 8:02
 
corona

सुदूरपश्चिमका आधा लाख बढीको कोरोना परीक्षण गरिएको छ । ती परिक्षण गरिएका स्वाबमध्ये साढे १० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।  सुदूरपश्चिम प्रदेशमा ५१ हजार बढीको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ५१ हजार एक सय ८८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत २६ हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ भने डडेल्धुरा प्रयोगशाला, डोटी प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत २४ हजार पाँच सय ६५ जनाको कोरोना परीक्षण भएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ५५ हजार एक सय ६३ जनाको स्वाब संकलन गरिएको थियो ।

त्यसमा तीन हजार नौँ सय ७५ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय ३१ पुगेको छ । यो भनेको कुल परिक्षणको १० दशमलब ४ प्रतिशत हो । संक्रमण पुष्टि भएको झण्डै चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ ।  प्रदेशमा सबैभन्दा बढी कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार चार सय २० पुगेको छ ।