धनगढीमा समुदायस्तरमा संक्रमण बढ्दै, स्थानीय संक्रमित २० पुगे
2020/08/23, 8:13
 
corona

धनगढी उप–महानगरपालिकामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण स्थानीयमा बढ्दै गएको छ । हालसम्म धनगढीका २० जना स्थानीयमा संक्रमण देखिएको छ । संक्रमण देखिनेमा ५ प्रहरी, ३ स्वास्थ्यकर्मी, दुई शिक्षक, एक बैकका कर्मचारी र अन्य ९ जना व्यापारी ड्राइभर र स्थानीय रहेका छन् । शनिबार थप दुई स्थानीयमा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक विद्यालयका सञ्चालक र अर्को छुट्टै विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिकामा कोरोना देखिएको छ । विद्यालयका सञ्चालक धनगढी–१ का ५१ बर्षीय पुरुष हुन् भने विद्यालयकी शिक्षिका धनगढी–५ की ३५ बर्षीया महिला हुन् । दुवै जना आईसोलेशनमा बसेको उप–महानगरपालिका जनस्वास्थ्य प्रमुख लक्ष्मीराज उपाध्यायले बताए । यो संगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ७६ पुगेको छ ।

यस्तै शुक्रबार धनगढीका तीन स्थानीयमा संक्रमण देखिएको थियो । संक्रमित मध्ये एक जना सेती प्रादेशिक अस्पतालमा कार्यरत महिला कर्मचारी, अर्का एक जना संक्रमित धनगढी–४ का २४ बर्षीया स्थानीय व्यपारी रहेको र तेस्रो संक्रमित धनगढी–३ का स्थानीय रहेका छन् ।