बल्लतल्ल नेपाल टेके, सुरु भो अर्को सकसपूर्ण यात्रा
2020/08/23, 10:43
 
corona

कोरोना महामारीसँगै भारतबाट नेपालीहरु फर्कन सुरु भएको क्रम आजका दिनसम्म जारी नै छ। महामारीले आक्रान्त बनेको भारतभन्दा स्वदेशमै सुरक्षा हुने महशुस गरी नेपालीहरू दिनहुँजसो फर्किरहेका छन्। उनीहरुलाई न लकडाउनले रोक्यो न निषेधाज्ञाले नै रोकिरहेको छ।

अहिले सीमावर्ती धेरै जिल्लामा निषेधाज्ञा छ। कैलालीमा पनि विहीबार रातिदेखि निषेधाज्ञा छ। निषेधाज्ञाकैबीच नेपालीहरू फर्किरहेकै छन्। उनीहरूलाई त्यहाँको प्रशासनले नेपाल प्रवेशमा रोक लगाएको त छैन तर निषेधाज्ञाको पालना हुनेगरी व्यवस्थापन पनि गरिरहेको छैन।

कैलालीमा त्रिनगर भन्सार नाका भएर नेपालीहरु फर्कने क्रम निरन्तर चलिरहेको छ। सीमानामा पुग्दा निषेधाज्ञाको कुनै परवाह नगरिएको प्रष्टै देखिन्थ्यो। सवारीसाधन सीमित थिए, यात्रीहरु बढी। न सामाजिक दूरीको ख्याल थियो न  मास्ककै मतलब ! गाडी चढाउँदा सरकारले तय गरेका मापदण्डको पालना त परकै कुरा भो। 

आफ्नो भूमिमा टेक्न पाउँदा उनीहरू खुसी त देखिन्थे तर चिन्तामुक्त भने भइसकेका देखिन्नथे। नेपाल प्रवेश पाउँदा अनुहारमा छाएको खुसी घरसम्मको यात्रा कसरी तय गर्ने होला भन्ने चिन्ताले छोपिएको प्रष्ट देख्न सकिन्थ्यो । 

भारतबाट फर्किएका अधिकांश व्यक्ति दूरदराजका हुन् । गन्तव्यमा पुग्नका लागि उनीहरुले व्यहोर्नुपर्ने सकस त्यहीँ सकिँदैन। सकस बस चढ्दादेखि नै सुरु हुने प्रष्ट देखिन्थ्यो। एक त सीमित बस त्यसमाथि चर्को भाडा तिर्नुपर्ने बाध्यता।

हिँजोआज दैनिक पाँच सय नेपाली त्रिनगर नाकाबाट प्रवेश गर्ने गरेका छन्। धनगढी पूरै सुनसान छ। यात्राका दौरान अत्यावश्यक आधारभूत सामान पनि उनीहरूले पाउने अवस्था छैन। नाकामा ‘थर्मल गन’ सोझ्याउँदै प्रवेश गराइएकाहरू विरामी हुन् वा सद्दे हुन् भन्ने छुट्ट्याउनै कठिन। सबैका अनुहार उस्तै( थकित, गलित। कोही विरामी नै रहेछन् भने पनि थाहा नहुने, थाहा भइहाले पनि वास्ता नहुने१

त्रिनगर नाका हुँदै आउने नेपालीहरू सुदूरपश्चिमका मात्र छैनन्। कर्णाली र ५ नम्बर प्रदेशका पनि छन्। प्रशासनले नेपाल प्रवेश गरेकाहरुलाई सम्बन्धित जिल्ला पठाउने व्यवस्था मिलाइएको त बताएको छ। तर व्यवस्था व्यवस्थित देखिँदैन।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा नेपाल प्रवेश गरेकाहरूको गन्तव्यमा जाने व्यवस्थाबारे समस्या भए बुझेर सुधार्ने बताउँछन्। तर नाकामै देखिएको निरन्तरको अव्यवस्था देख्दैगर्दा प्रशासनको भनाइ पत्याइहाल्ने अवस्था छैन।