कैलालीका ३२ सहित सुदूरपश्चिम प्रदेशका थप ७५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आईतबार भएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५ जना, धनगढी उपमहानगरपालिकाका चार महिला र चार पुरुष गरी आठ जना, घोडाघोडी नगरपालिका ११ का तीन पुरुषमा कोरोना पुष्टि भएको बताए। यस्तै भजनी नगरपालिका २ का एक महिला र तीन पुरुष गरी चार जना, जोशीपुर २ का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई महिला र चार पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष गरी दुईजना तथा स्थानीय तह नखुलेका थप दुई गरी १० जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा चार सय २० जनाको कोरोना परीक्षण भएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मंगलसेन नगरपालिकाका १७ जना, पञ्चदेवल विनायक नगरपालिकाका ६ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जना, डडेल्धुराकै अजगमेरु गाउँपालिकाका एक जना, बझाङको केदारस्यूँ गाउँपालिकाका २ जना, बझाङकै बुंगल गाउँपालिकाका १ जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक जना, बैतडीको पाटन नगरपालिकाका २ जना, बैतडीकै सुर्नया गाउँपालिकाका एक जना र जिल्ला अस्पताल बैतडीका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ६ पुगेको छ। संक्रमण पुष्टि भएको झण्डै चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ। प्रदेशमा सबैभन्दा बढि कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार चार सय ५१ पुगेको छ।