यूईएफए च्याम्पियन्स लिगः बायर्न र पीएसजी पहिलो हाफमा बराबर
2020/08/24, 1:45
 
football

यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच जारि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो । बायर्नले त्यसपछि केहि दबाब सिर्जना गरेपनि पीएसजीको डिफेन्सले त्यसलाई विफल पार्यो ।

4

दशौं मिनेटमा पीएसजीका थिलो केहररको क्रसलाई बोटेङले क्लियर गर्दै खतरा टारे । लगत्तै छोटो कर्नर लिएको पीएसजीले गोलरक्षक नोएरलाई समस्या दिन सकेन । १४ औं मिनेटमा बर्नाटको पासमा पेनाल्टी क्षेत्रभित्र किलियन एमबाप्पेको प्रहारलाई लिओन गोरेट्जकाले छेके । लगत्तै एमबाप्पेकै प्रयासलाई जोशुवा किम्मिचले गोलरक्षकसम्म पुग्न दिएनन् ।  १८ औं मिनेटमा गोलरक्षक नोएरले लगातार दुई बचाउ गरेपछि पीएसजी अग्रता लिनबाट बन्चित भयो । एमबाप्पेको पासमा ६ यार्ड बक्स नजिकबाट नेयमारको पहिलो प्रहारलाई रोकेका नोएरले त्यसकै रिबाउन्डमा नेयमारले दिएको कटब्याकलाई छेक्दै कर्नर बनाए ।

1

२२ औं मिनेटमा बायर्न पनि अग्रता लिनबाट चुक्यो । लेवान्डोस्कीले पेनाल्टी क्षेत्रभित्र टर्नमा गरेको फितलो प्रहारमा गोलरक्षक नाभास बिट भएपनि बल पोस्टमा लाग्दै फर्कियो । त्यसको एक मिनेट नबित्दै पीएसजीले काउन्टर अट्याकमा बढाएको मुभमा डी मारियाले गोल गर्न सकेनन् । एमबाप्पे र नेयमारले अगाडि बढाएको मुभमा डी मारियाको अन्तिम प्रहार आकासियो । सेन्टर डिफेन्डर जेरोम बोटेङले चोट बोकेपछि २५ औं मिनेटमा नै बायर्नले निकलास सुललाई मैदान प्रवेश गराएको थियो । २९ औं मिनेटमा नेयमारको फ्रिकिकमा क्लियर भएको बललाई आन्दर हरेराले पेनाल्टी क्षेत्र बाहिरबाट भली प्रहार गरेपनि बल डिफ्लेक्ट हुँदै बाहिरियो । ३१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको शक्तिशाली हेडरलाई गोलरक्षक नाभासले दोस्रो प्रयासमा सफल बचाउ गरे ।

निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा प्रेस्नेल किम्पेम्बेले मुलरविरुद्ध पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै कुनै खतरा बढ्न दिएनन् । अन्तिम मिनेटमा एमबाप्पेले सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा पीएसजीले अग्रता लिन सकेन । अनमार्क रहेका एमबाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो । लगत्तै अर्कोतर्फ जिनाब्रीको प्रहारलाई नाभासले बचाउ गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयमा बायर्नले कोमानविरुद्ध फल भएको भन्दै पेनाल्टीको माग गरेपनि रेफ्रीले त्यस निर्णय दिएनन् ।