कोरोनामा ध्यान, अरूले नै लिँदै ज्यान
2020/08/24, 12:31
 
corona

बझाङको साइपाल गाउँपालिका १ धलौलन निवासी ४७ वर्षीया कंकादेवी बोहोराले मुटु सम्बन्धी समस्याका कारण ६ वर्षदेखि नियमित औषधि खाइरहेकी थिइन् । औषधि सकिएपछि उपचारका लागि काठमाडौं जानुपथ्र्यो । लकडाउन सुरु भएपछि न आफू काठमाडौं जान सकिन्, न खाइरहेको औषधि ल्याइदिने नै कोही भेटियो । औषधि नपाएर गत वैशाख २२ गते उनको ज्यान गयो । ‘उपचार गर्न काठमाडौं लैजान पनि सकिएन, खाइरहेको औषधि पनि ल्याउन नसक्दा ज्यान गयो ।’ उनका आफन्त पिटर बोहोराले भने ।

पुर्चौडी नगरपालिका–४ भटनाका हरीश लुहारकी पत्नी २२ वर्षीया सुनीता एक वर्षदेखि मुटुको समस्याले पीडित थिइन् । काठमाडौं स्थित सहिद गंगालाल हृदय रोग केन्द्रका चिकित्सकको सिफारिसमा उनले औषधि सेवन गरिरहेकी थिइन् । औषधि सकिएपछि चिकित्सकले जँचाउन आउन भनेकाले उपचारका लागि काठमाडौं जाने योजना थियो । औषधि सकियो, ल्याइदिने पनि कोही भएन, काठमाडौं जान पनि सकिनन । अनि उनको पनि जेठ २१ गते ज्यान गयो । ‘भारतबाट काठमाडौंमै उपचार गराउने सोचेर फर्केका थियौं,’ हरीशले भने, ‘दिनको तीन पटक खाने औषधि १२ दिनअघि नै सकिएको थियो, औषधि नपाएरै ज्यान गयो ।’

उनका अनुसार सुनीतालाई करिब एक वर्षअघि हिँड्दा सास फुल्ने समस्या देखियो । भारत उत्तराखण्डको पिथौरागढमा मजदुरी गर्ने हरीशले उपचारका लागि पत्नीलाई उतै लगे । त्यहाँका चिकित्सकले मुटुको भल्भमा समस्या भएको र शल्यक्रिया गर्नुपर्ने बताए । साढे ३ लाख भारतीय रूपैयाँ खर्च हुने बताइएपछि उनीहरू रकम अभावका कारण काठमाडौंतिर हानिए । गंगालाल अस्पतालमा दुई पटकसम्म उपचार गराउँदा चिकित्सकले रिपोर्ट सामान्य रहेको, तत्कालै शल्यक्रिया गर्नु नपर्ने भन्दै औषधि लेखेर पठाएका थिए । ‘तेस्रो पटक गंगालाल जानै पाइएन, सबथोक खत्तमै भइगयो,’ हरीशले भने ।  

कोरोना संक्रमण देखा परेको सात महिनाभन्दा बढी हुँदा पनि स्वास्थ्य प्रणाली मजबुत बनाउन, नियमित औषधि सेवन गरिरहेकालाई औषधि उपलब्ध गराउन, उपचारका लागि पूर्वाधार थप लगायतमा तीनै तहका सरकारले प्रभावकारी काम गर्न नसकेपछि समस्या थप जटिल बनेको छ । कैलाली गौरीगंगा नगरपालिका २ का ५५ वर्षीय मुटुरोगी देवबहादुर चन्दको उपचारका लागि काठमाडौं जान नपाउँदा वैशाख २४ गते ज्यान गयो । ‘मुटुको समस्या बल्झिएपछि धनगढीको अस्पताल लग्यौं, त्यहाँबाट काठमाडौं लैजान भन्यो’, पत्नी लक्ष्मी चन्दले भनिन्, ‘एम्बुलेन्स खोज्दा खोेज्दै उहाँको ज्यान गइहाल्यो ।’

गत चैत २६ गते गोदावरी नगरपालिका २ तेघरीका ७६ वर्षीय जनकलाल भट्टलाई श्वास प्रश्वासको समस्या देखियो । निजी अस्पताल माया मेट्रोमा पु¥याएपछि भेन्टिलेटर खाली नभएको भन्दै भर्ना लिएन । अर्को निजी अस्पताल निसर्गमा लैजाँदा फिजिसियन चिकित्सक छैन भनेर भर्ना लिएन । ‘कुनै पनि अस्पतालले भर्ना लिन मानेनन्, उपचार नपाएर अंकलको मृत्यु भयो ।’ जनकका आफन्त हेमराज भट्टले भने ।  कोरोना कहर सुरु भएपछि उपचार नपाएर ज्यान गुमाएका यी प्रतिनिधि उदाहरण हुन् । आर्थिक रूपमा कमजोर र पहुँच नभएका सर्वसाधारण उपचार गर्न अस्पतालसम्म पुग्न नसकेर र नियमित खाइरहेको औषधि नपाएर ज्यान गुमाइरहेका छन । कयौं अस्वस्थ सर्वसाधारण अस्पतालसम्म जान नसकेर रोग जटिल बन्दै गएको छ ।

कोराना संक्रमण समुदाय स्तरमा पनि देखिन थालेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शुक्रबारदेखि निषेधाज्ञा जारी छ । स्थानीय तहले पनि ठाउँ ठाउँमा निषेधाज्ञा लगाएका छन् । ३ महिना बढी लामो लकडाउन भोगेका सर्वसाधारण दोस्रो पटक निषेधाज्ञाका कारण घरभित्र थुनिएर बसेका छन् । यसै कारण औषधि उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाइरहेका छन । कयौंले उपचार गराउन नसकेर रोग सहेर बसिरहेका छन् ।

कोरोना संक्रमण देखा परेको सात महिनाभन्दा बढी हुँदा पनि स्वास्थ्य प्रणाली मजबुत बनाउन, नियमित औषधि सेवन गरिरहेकालाई औषधि उपलब्ध गराउन, उपचारका लागि पूर्वाधार थपलगायतमा तीनै तहका सरकारले प्रभावकारी काम गर्न नसकेपछि समस्या थप जटिल बनेको छ । सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विशेषज्ञ चिकित्सक, फिजिसियन, उपकरण लगायतका पर्वाधार नहुँदा सर्वसाधारण सामान्य रोगको उपचारका लागि पनि धनगढी आउनुपर्छ । अलि जटिल रोगको उपचारका लागि काठमाडौं कि नेपालगन्ज धाउनुपर्छ । ‘गरिब मान्छेले उपचार गराउन नपाएर धेरै दुःख पाइरहेका छन’, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्, ‘गरिबले पास समेत पाउँदैनन् ।  

पहाडका बासिन्दा धनगढी आउन पाइरहेका छैनन्, यहाँबाट काठमाडौं उपचार गर्न जानुपर्ने जान सकेका छैनन ।’ डायलासिस गराउनुपर्ने, मुटु लगायतका समस्याको उपचार गराउनेहरू समस्यामा रहेको उनले बताए । ‘पहुँच भएकाले मात्र पास पाउने अवस्था छ, हवाईजहाज, एम्बुलेन्सको व्यवस्था गरेर काठमाडौं जाने आर्थिक हैसियत नभएका धेरै छन । उनीहरूले अन्य रोगले पनि ज्यान गुमाउने अवस्था छ ।’ पन्त भन्छन्, ‘सरकारले त्यस किसिमको स्वास्थ्य प्रणाली बनाउन र तयारी गर्न नसकेकाले संकट हुने देखिन्छ ।’

सुदूरपश्चिममा सीमित आइसियू र भेन्टिलेटर भएकाले पहुँच भएकाले मात्र त्यो प्रयोग गर्न पाउने अवस्था रहेको उनले बताए । सुदूरपश्चिमका ७ पहाडी जिल्लामा एउटा पनि आइसियू र भेन्टिलेटेर छैन ।  वरिष्ठ फिजिसियन शुभेशराज कायस्थ कोरोना मात्र नभएर सुदूरपश्चिममा अन्य रोगले पनि ठूलो संख्यामा ज्यान जाने खतरा बढेको बताउँछन् । ‘भदौ, असोज र कात्तिक डेंगी, मलेरिया, स्क्रब टाइफसको महामारी हुने समय हो ।’ उनले भने, ‘कोरोना कोरोना मात्र भनेर अलमलिनुभन्दा अन्य रोगले ज्यान जाने अवस्था नियन्त्रणमा पनि ध्यान दिनुपर्छ ।’ सर्पले टोकेर अस्पताल पुगाउन नसकेर कयौंको ज्यान गएको उनले बताएको खबरलाई दिलवहादुर छत्यालले नागरिकमा लेखेका छन् ।