थारू समुदायले आइतबार ‘अग्रासन’ (विवाहित चेलीबेटीहरूलाई दिइने कोसेली) बिनै अट्वारी पर्व मनाएका छन् । कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार र सोमबार गरी दुई दिनसम्म पश्चिमका थारू समुदायले अट्वारी पर्व धूमधाम साथ मनाउँछन् । तर स्थानीय प्रशासनले कैलाली, बर्दिया, बाँके लगायत थरुहटका जिल्लामा कतै लकडाउन त कतै निषेधाज्ञा जारी गरेको छ । त्यसैले ‘फर्हार’ गरेर ‘अग्रासन’ पु¥याउन अवस्था रहेन ।
थारू कल्याणकारिणी सभा, कैलाली जिल्ला उपाध्यक्ष माधव चौधरी भन्छन्,‘ कोरोना सर्ला भन्ने डरले चेलीबेटीलाई अग्रासन पु¥याउने माहोल छैन । त्यसैले, यसपालि फोन गरेर क्षमा मागेका छौं ।’ प्रायः खेतीपातीमा रमाउने थारू समुदाय वर्षात्को खेतीपाती सकिएपछि अट्वारी पर्व धूमधाम साथ मनाउँछन् । अट्वारी पर्व खासगरी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डंगौरा समुदायले मनाउँछन् । प्रदेश ५ ले अट्वारी पर्वका अवसरमा थारू कर्मचारीलाई आइतबार बिदा दिएको थियो ।
डंगौरा थारू समुदायले आइतबारको दिनलाई ‘अट्वार’ भन्छन् । यही अट्वार व्रत बस्ने पर्वबाट अट्वारी भन्ने गरिन्छ । सोमबार अग्रासन (चेलीबेटीलाई कोसेली) दिएर यो पर्व समापन हुन्छ । अट्वारी पर्वबाट थारू समुदायले आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् । आइतबार अथवा अट्वारीको पहिलो दिन व्रत बस्नेहरूको खाना भान्सामा पाकेन । उनीहरू बिहानै नुहाएर पिँढी या आँगनमा गाईको गोबरले लिपपोत गरे । लिपपोत गरेर पहिले प्रयोेग नभएको आगो अर्थात् चोखो आगोमा रोटी पकाए । पुरानो आगो अट्वारीका लागि अपवित्र मानिन्छ। त्यसैले काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्छन्। बाटुलो रोटीलाई सूर्यको प्रतीकात्मक परिकारका रूपमा लिइन्छ ।
स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्कामा बसेर बसेर दिउँसो रोटी फलफूल खाए । खानुभन्दा पहिले अग्यारी दिए । आफ्नो भागमा रहेको परिकार थोरै झिकेर आगोमा चढाउने विधिलाई ‘अग्यारी’ दिएको भनिन्छ। सबैभन्दा पहिले अग्नि अथवा सूर्यलाई प्रसादका रूपमा अग्यारी दिने चलन छ । त्यसपछि आफ्ना चेलीबेटीका लागि पाहुरको रूपमा ‘अग्रासन’ छुट्ट्याउने चलन छ । अन्य व्रतजस्तो अट्वारीमा दिनभरि निराहार बसिँदैन। दिउँसो नै पूजा गरी खाने चलन छ। योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ ।
सूर्यास्तपछि खान पाइँदैन । सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानीसमेत नखाएर निराहार बस्नुपर्छ । फर्हार अट्वारीको अन्तिम पूजा होे । सोमबारको खानामा खास गरेर दालभातसँगै खँरिया, फुलौरी, पोंईको साग मिसाएको ठुसा, सुकेको माछा, चिचिन्डो, घिरांैला, भिन्डी लगायतका बिजोर संख्यामा तरकारी बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै कोसेली पु¥याउन आउने दाजुभाइको सम्मानमा मासु पकाइन्छ ।
महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमसेनले थारू समुदायलाई शत्रुसँग लड्न सघाएको खुसियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको थारू समुदायका अगुवाहरू बताउँछन् । एक किंवदन्तीअनुसार रोटी पकाउँदा पकाउँदै लडाइँमा जाँदा भीमले पकाएको रोटी कसैले पल्टाउन सकेन । त्यसैले भीमको सम्झनामा पूजा गर्ने एउटा रोटी दोहोरो नफर्काई एकपट्टिबाट मात्र पकाइन्छ । यसलाई भेंवक् रोटी भनिन्छ।
यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने थारू समुदायका व्यक्ति अट्वारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सतको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्छन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ। यसरी व्रत बसेकाहरू साँझपख आआफ्ना घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्छन् ।