यि हुन् भारतबाट कैलाली कञ्चनपुरमा ड्रग्स सप्लाई गर्ने तस्करहरु
2024/01/08, 6:41
 
ss

पछिल्लो समय प्रहरीले लागुऔषधका कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ । भारतिय सिमा बजारबाट नेपालमा लागुऔषध सप्लाई गर्ने कारोबारीहरुलाई प्रहरीले पक्राउ गरिरहेको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार हाल लागुऔषधको कारोबारी पक्राउ पर्ने क्रम जारी रहेको जनाएको छ । भारतमा डिलर राखेर नेपालमा लागुऔषध पठाउने भारतिय नागरिकलाई पक्राउ गरेर मुद्धा समेत चलाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार २०७७ फागुन १७ गतेदेखी हालसम्म १८ जना ड्रग्स सप्लाई गर्ने डिलर र तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरिक्षक भरतबहादुर बोहराले दिएको जानकारी अनुसार १६ जना भारतीय नागरिक नेपाली जेलमा छन्। जसमा उत्तर प्रदेशका नितिन गुप्ता, धर्मेन्द्र कुमार, शुभम भासीन र महेन्द्र सिंह रहेका छन्। पिलिभित भारतका सुच्चा सिंह, मनतोष हिरा, सोना सिंह, सुखदेव सिंह, बलजित सिंह र अजविन्द्र सिंह रहेको बोहराले जानकारी दिए।

यस्तै, चमपावत भारतका अमन चन्द, लखिमपुरका सानु अन्सारी, जोगा सिंह, अनिल भन्ने निल सिंह, ग्राम गुलरिया सहिजानपुरका सुभाषचन्द र उत्तराखण्डका धर्मेन्द्र दुबे रहेका छन्। लखिमपुर खिरीका ५० वर्षीय महंगा सिंह भने लागूऔषध सम्बन्धी मुद्दा दर्ता भइ हिरासतमा रहेको प्रहरी नायब महानिरिक्षक बोहरा बताउँछन्। सिंह पुस १६ गते २४८ ग्राम ६४० मिलिग्राम अफिनसहित पक्राउ परेका थिए। भारत पिलिभित किल्ला नम्बर ४ उत्तराखण्डका ३४ वर्षीय सोनु भन्ने सुरेन्द्र सिंह लागूऔषध मुद्दामा प्रतिवादी कायम भइ फरार रहेका छन्।