सुदूरपश्चिममा मनाइने गौरा पर्वको दोस्रो दिन सोमबार व्रतालु महिलाले नजिकको धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’लाई धोएका छन् । कोरोना कहरबीच पनि डडेल्धुराका महिलाहरूले ‘बिरुडा’लाई धोएका हुन् । गौरा पर्वको पहिलो दिन आइतबार महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाएका थिए।
पाँच प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्छन । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ। अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ । अघिल्लो दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको अमरगढी नगरपालिका–८ की भागरथी ओझाले बताइन् । उनका अनुसार व्रतालु महिलाहरूले बिहानै नुवाइ धुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ । धान, साउँ, तील, अपामार्गलगायतका बोटबाट गौराको प्रतिमूर्ति बनाइ श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहीआएको छ।
नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ । दोस्रो दिन नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ । गौराको तेस्रो दिन अमुक्ताभरण र मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली हो । पौराणिक कालमा हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ।
गौरापर्वमा ब्रतालु तथा श्रद्धालु महिलाद्वारा गौराघरमा गइ गरिने शिव र गौरीको पूजा अर्चनामा बिरुडा नै अक्षता र प्रसादका रुपमा प्रयोग हुन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिक रुपमा धान, साउँ, तील आदि बिरुवाका बोटबाट गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्र्याउँछन् । विविध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ ।
यसपछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । तर, कोरोना भाइरसको महामारीका कारण यसपटक सामूहिक रूपमा भने गौरा मनाउन रोक लगाइएको छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक–आस्था र आपसी–सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा इष्ट–कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
निख्रिदो झरिसँगै पन्चान्न (पाँच अन्न) को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ। भाद्र शुक्ल अष्टमीभन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ। गौरा एकादशी (पुत्रदा एकादशी) बाट नै यो पर्वका अनुष्ठान शुरु हुने भएपनि बिरुडा पञ्चमीदेखि भने प्रत्येक घर आगनमा गौराको रमझम आइसकेको हुन्छ। दशैंको जमरा जत्तिकै गौराको बिरुडालाई पनि सौभाग्य सूचक मानिन्छ । कैलाशपतिकी अर्धांगिनि एवम् हिमालयकी पुत्री पार्वती यो गौरा पर्वको अवसरमा माइत आउँछिन् भन्ने जनविश्वास छ ।