सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ । अहिले धनगढीमा स्थानीय संक्रमितको संख्या ३५ पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सोमवार धनगढीका १३ जनामा कोरोना पुष्टि भएकोमा १२ जना स्थानीय संक्रमित रहेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए ।
उनले १२ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको बताए । ट्राभल हिस्ट्री नभएका १२ जना मध्ये वडा नम्वर ४ का एकै परिवारका चार जना र वडा नम्वर ३ का एकै परिवारका ५ जना रहेका छन् । वडा नम्वर ३ का अर्का एक जना व्यापारीमा पनि संक्रमण पुष्टि भएको छ । वडा नम्वर ४ को संक्रमित परिवार शिक्षिकाको हो भने वडा नम्वर ३ को ५ जनाको संक्रमित परिवार व्यापारीको हो । वडा नम्वर १ का दुई स्थानीय संक्रमित मध्ये एक शिक्षिका र एक स्टाफ नर्स हुन् ।
उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले हालसम्म धनगढीका एक सय ९५ जनामा संक्रमण पुष्टि भएको बताउँदै ३५ जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए । अहिलेसम्म ट्राभल हिस्ट्री नभएका ६ जना स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी, चार जना शिक्षक र दुई जना चालकमा संक्रमण पुष्टि भएको छ । यस्तै चार जना व्यापारी, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी र एक जना बैंकका कर्मचारीमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ ।
चार जना व्यापारीका परिवारका सदस्य र तीन जना संक्रमित शिक्षिकाका परिवारका सदस्यलाई पनि कोरोना देखिएको छ । बाँकी चार जना भने सर्वसाधारण हुन् । उनीहरुमध्ये एक जना संक्रमितको मृत्यु भईसकेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए ।
नेपालमा पहिलो पटक स्थानीय संक्रमण धनगढीमै फेला परेको थियो । दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो ।