भैँसीका पाडा र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम
2020/08/25, 12:38
 
krishi

कैलालीको टीकापुर नगरपालिकाले यस वर्ष किसानका लागि भैँसीका पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम ल्याएको छ। नगरपालिकाले टीकापुरलाई मासुमा आत्मनिर्भर बनाउन भैँसीका पाडा र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम गर्न थालेको हो।

नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बङ्गुरका पाठा किनेर दिनेछ। “किसानको मागअनुसार ७५ प्रतिशत नगरपालिकाको लगानी र २५ प्रतिशत किसानको लगानीमा पशुपालन गरिनेछ”, टीकापुर नगरपालिकाका पशु अधिकृत श्यामराज पाण्डेले भने, “एकजना किसानलाई १० भन्दा बढी भैँसीका पाडा दिइनेछ। बङ्गुरका पाठा पनि १० भन्दा बढी दिने योजना छ।”

पाण्डेका अनुसार तीन वर्षमा भैँसीका पाडा मासुका लागि तयार हुनेछ र किसानले बिक्री गरेर फाइदा लिन सक्नेछन्। यसरी पाडापालन गर्ने किसानलाई नगरपालिकाले घाँस, उपचार र प्राविधिक ज्ञानसमेत उपलब्ध गराउनेछ। यो कार्यक्रम नेपालका चार ठाउँमा मात्रै लागू भएको पाण्डेले बताए। “सङ्घीय सरकारको सहयोगमा सञ्चालित पाडा हुर्काउने कार्यक्रम पनौती, रोल्पा, पोखरा र टीकापुरमा स्वीकृत भएको हो”, उनले बताए।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले ल्याएको यो कार्यक्रम यस क्षेत्रका लागि नयाँ कार्यक्रम हो। पाडापाडीका लागि रु ६० लाख र बङ्गुरका पाठाका लागि रु ३० लाख रकम विनियोजन गरिएको छ। यो कार्यक्रममा २० भैँसीपालक र १० जनासम्म बङ्गुरपालक किसानलाई अनुदान दिन सकिने नगरपालिकाले जानकारी दिएको छ।

किसानलाई छिटो फाइदा लिन सजिलो हुने र व्यावसायिक बन्न सघाउने किसान बताउँछन्। “पशुपालनमा भविष्य खोजिरहेका किसानलाई अनुदान सहयोगले हौसला मिल्नेछ, साथै लागत सहभागितासमेत रहेकाले लगाव पनि बढ्नेछ”, पशुपालक किसान दीपक साउद भन्छन्, “मासुको अभाव रहेको अवस्थामा स्थानीय सरकारले किसानलाई लाभ हुने खालका कार्यक्रम ल्याउनु सकारात्मक हो। यसले मासु उत्पादन वृद्धि हुनुका साथै किसानलाई प्रेरणा मिल्नेछ।”

नेपालमा ६० प्रतिशत राँगाको मासु खपत हुन्छ। बाँकी ४० प्रतिशत अन्य मासुले आपूर्ति हुने गरेको बताइन्छ। त्यसैले यो कार्यक्रम प्रभावकारी हुने किसान बताउँछन्।  यससँगै टीकापुर नगरपालिकाले गाईको दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले गाईलाई पोषणस्वरूप भत्ता दिने, घाँस उत्पादनमा सघाउनेजस्ता कार्यसमेत गरिरहेको छ।

“नगरपालिकाले कृत्रिम गर्भाधान मार्फत बाच्छी पाउने गाईलाई सुत्केरी भत्तावापत रु एक हजार दिने गरेको छ”, किसान रत्नप्रसाद पोखरेलले भने, “बाच्छी पाएमा दूध उत्पादनमा वृद्धि हुन्छ भनेर होला। मलाई त यो कार्यक्रम राम्रो लाग्यो।” नगरपालिकाले किसानलाई निःशुल्क घाँसको बीउ वितरणको कार्यक्रमसमेत गर्ने गरेको छ।