सुदूरपश्चिममा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिन थालेपछि उपचार सेवा प्रभावित हुन थालेका छन्। प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण हुन क्रम बढेपछि सेवा प्रभावित हुन थालेको हो। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि फ्रन्ट लाईनमा खटिएका सुदुरपश्चिमका ५० जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । साढे ५ हजार कोरोना संक्रमित पुगेकोमा प्रदेश भरिमा ५० जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भईसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो सयम अछामको बयलपाटा अस्पतालमा कार्यरत १९ जनामा कोरोना देखिएकोमा ९ जना स्वास्थ्यकर्मी छन् । उनीहरुलाई अस्पतालमा उपचारका लागि पुग्ने बिरामीहरुकै माध्यमबाट कोरोना सरेको आशंका गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न नसकिएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण फैलिएको बताईएको छ । बयलपाटा अस्पतालका प्रमुख डाक्टर विकास गौचनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनमा चुकेको बताए । ‘मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने भन्ने मापदण्ड जुनसुकै बेला र सबै ठाउँमा प्रयोग नभएको हो की?’ उनले भने, ‘अर्को कुरा लक्षण नभएका संक्रमितहरुले पनि एक अर्कामा रोग सारिरहेकाले पनि जोखिम बढेको छ ।’
स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि अहिले बयलपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । जसका कारण कोरोना नभएर अन्य रोगका विरामी उपचार सेवा पाउनबाट वञ्चित भएका छन् । यस्तै प्रदेशका अन्य अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेको छ । बिरामीको उपचारका क्रममा आधारभुत स्वास्थ्य सुरक्षाका मापदण्डको पालन हुन नसक्दा फ्रन्ट लाईनका स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको छ । कोरोनाको जोखिमबाट बच्न संक्रमितको उपचारमा खटिने बाहेकका स्वास्थ्यकर्मीले समेत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने सेती प्रादेशिक अस्पतालको कोभिड १९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमर बताउँछन् ।
उनले स्वास्थ्यकर्मी र चिकित्सकले संक्रमणबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सेनिटाईजरको प्रयोग गर्ने लगायतका सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिए । सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पदपुर्ति हुन नसकेका बेला कोरोना संक्रमण हुन थालेपछि अन्य बिरामीको उपचारमा समस्या हुने देखिएको छ । स्वास्थ्यकर्मीको माध्यमबाट अन्य व्यक्तिमा सर्ने जोखिम पनि उतिकै छ । तर अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीले नै आधारभुत स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्दा समस्या हुने देखिएको छ ।
प्रदेशमा स्वास्थ्यकर्मीलाई सुरक्षित राख्दै सेवालाई प्रभावित हुन नदिनतर्फ सम्बन्धीत निकायले गम्भीर बन्नुपर्ने सुझाव दिईएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सबै खाले मापदण्ड पालन गर्न आग्रह गरिएको बताए । उनले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पीपीई अनिवार्य लगाउनुपर्ने प्रावधान भएपनि अन्यले मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका मापदण्डकै पालन गर्नुपर्ने जनाए ।
अहिले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा स्वीकृत दरबन्दीको करिब पाँच प्रतिशत मात्र जनशक्ती उपलब्ध छ । दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा महामारीको समयमा कार्यतालिका बनाएर आलोपालो सेवा प्रदान गर्ने व्यवस्था मिलाउन नसकिएको दावी गरिएको छ ।