सुदूरपश्चिममा मंगलवार एक सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक सय २९ जनामा संक्रमण पुष्टि भएको हो । तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८÷८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामको चौरपाटी गाउँपालिकका १२, साँफेवगरका ५ र मंगलसैनका एक जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का चार, वडा नम्वर ५ का दुई, वडा नम्वर २ का एक, लम्कीचुहाका ५, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । डोटीको आदर्श गाउँपालिकका एक जनामा पनि कोरोना देखिएको छ । मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीस पाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले बताए । डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।
पीसीआर मेसिन जडान भएको हप्ता दिनमै बिग्रिएपछि परीक्षण बन्द भएको डोटीमा मेसिन मर्मतपछि पुनः परीक्षण सुरु भएको छ। आज जिल्ला अस्पतालले पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको छ । अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको बताए । संक्रमित सबै डोटी जिल्लाका हुन् ।
जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ३९ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ ।